• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

फैलँदै छ मानसिक प्रतिगमन

सनराइज खबर संवाददाता

नेपालमा अहिले मानसिक प्रतिगमन थालनी भएको छ । यो दुखान्त प्रतिगमनको मूल्य मुलुकले कसरी चुकाउनुर्ला भनेर चिन्ता गर्नुपर्ने भएको छ । सत्ताको सेरोफेरोबाट मात्र प्रतिगमन हुँदैन । प्रतिगमन सरकार र राजनीतिक निकायहरूबाट मात्र हुँदैन । जनताको चेतना र व्यवहार तथा जनताको सोच्ने शैलीलाई पछाडि फर्काइदिएर पनि प्रतिगमन हुनसक्छ । अर्थात्, मानसिक प्रतिगमन हुनसक्छ । समकालीन नेपालको परिदृश्यले यही देखाउन थालेको छ ।

मिडिया काउन्सिल विधेयक ठीक भएन भन्दै एकखाले पत्रकार तथा एनजीओकर्मीले आन्दोलन गरे । गुठी विधेयक ठीक भएन भन्दै त्यही समूहको उक्साहटमा आन्दोलन थालेका छन् । भोलि कुनै विधेयक आउने छ, त्यसमा चित्त बुझेन भन्दै अर्काखाले मानिस सडकमा आउने छन् । विधेयक भनेको संसदीय जिम्मेवारी हो । विधेयकमा चित्त बुझेन भन्दै विभिन्न जत्था सडकमा उत्रनुको अर्थ के हो ? मानसिक प्रतिगमन हो ।

मानसिक प्रतिगमन बुझ्न विगतको नेपालको परिदृश्य सम्झनुपर्छ । मुलुकले विगतमा एउटा यस्तो कालखण्ड गुजार्यो, जसमा सबै निर्णय सडकबाट गर्नुपर्छ भनिन्थ्यो । सडकमा पाँच जनाको जुलुसले पनि सरकारलाई झुकाउने सामथ्र्य राख्थ्यो । खासगरी जातीय समुदायहरूको आड लागेर देखापर्ने समूहहरूले मुलुकलाई ब्ल्याकमेलिङ गर्ने गरेका थिए । त्यो कालखण्डमा सरकारलाई पूरै कमजोर बनाइएको थियो । सरकार मात्र नभएर राज्यका निकायहरू, तत्कालीन संविधानसभा, व्यवस्थापिका संसद् पनि निरीह बनेका थिए । सडकको निर्णय र दबाब संसद्ले मान्नुपर्ने दुर्दान्त अवस्था मुलुकले भोगेको थियो । संसदमा एक÷दुई सिट भएको पार्टीले समेत छ सय एक जना सम्मिलित संसद्लाई ब्ल्याकमेलिङ गर्थे ।

त्यस्तो कालखण्डको बिदाइ गर्न नयाँ संविधान बनाइयो, आमचुनाव गरियो । आमचुनावको अर्थ हो– संसद् नै सर्वाेपरि, जनप्रतिनिधि नै सर्वाेपरि । सडक युग अन्त्य गरेर संसद् युग थालनी गर्न नेपाली जनताले पछिल्लो डेढ दशक ठूलो संघर्ष गर्नुपरेको छ, ठूलो दुःख भोग्नुपरेको छ । संसद् युगको थालनी गर्नु भनेको बलियो सरकार बनाउनु हो । के नेपाली समाजले यी सबै बिर्सिएको हो ? विगतको राजनीतिक अस्थिरता र बेथिति सबै भुलेको हो ?

गुठी विधेयक या मिडिया काउन्सिल विधेयक होस्, त्यसको छिनोफानो जनप्रतिनिधिले गर्ने हो, संसद्ले गर्ने हो । संसद्ले हचुवाको भरमा विधेयक पारित गर्दैन । लामो छलफल गरेर, सरोकारवालाहरूको कुरा सुनेर मात्र निर्णय गर्छ भन्ने तथ्य लुकाउन खोजिँदै छ । समाजलाई पुनः जातीय धार्मिक उन्मादमा फसाउन खोजिँदै छ । समाजलाई फेरि उत्तेजनामा फसाउने दुष्प्रयत्न गरिँदै छ । समाजमा राज्यव्यवस्थाप्रति वितृष्णा फैलाउन खोजिँदै छ । राजनीतिक रूपमा प्रतिगमन भएको छैन, तर जनतालाई पुरानो युगको मानसिकतामा फर्काएर मानसिक प्रतिगमन गर्न खोजिँदै छ ।

सरकारले कुनै पनि विधेयक संसद्मा लाँदैमा पारित हुँदैन । विधेयक पारित गर्ने लामो प्रक्रिया हुन्छ, त्यसमा सरोकारवालाहरूको सुनुवाइ हुन्छ । विभिन्न दफाहरूको औचित्य र कारणमा छलफल हुन्छ । छलफल गर्नलाई नै संसद् बनाइएको हो । यो तथ्यलाई उपेक्षा गर्दै सडकमा लाग्ने नारा र जम्मा गरिने भीडका आधारमा निर्णय हुनुपर्छ भन्नु समाजलाई मानसिक प्रतिगमन उन्मुख गराउनु हो । 

भनाई नै छ– अशान्तिमा मात्र शान्तिको महत्व हुन्छ, अस्थिरतामा मात्र स्थिरताको महत्व थाहा हुन्छ । शान्ति र स्थिरताको कालखण्डमा यसको महत्व बुझ्न नसकेर अशान्ति र अस्थिरताका लागि पुकारा गर्न थाल्नु भनेको मानसिक प्रतिगमन नै हो । मानसिक प्रतिगमनले समाजको विवेक मारिदिन्छ, उत्तेजना र आवेग जगाइदिन्छ । मानसिक प्रतिगमनले तथ्यलाई भन्दा भावनालाई प्रधानता दिन्छ । सत्यलाई छोपेर असत्यलाई फैलाइदिन्छ । तिललाई पहाड बनइदिन्छ, असत्यलाई सत्यको रूपमा प्रचारित गर्छ । मानसिक प्रतिगमनले समाजमा निराशा फैलाउँछ र निराशाबाट निस्कने बाटो उत्तेजना र हिंसा हो भनेर सिकाउँछ ।

अहिलेको नेपालको परिदृश्यले मानसिक प्रतिगमनलाई मलजल गरिरहेको छ । समाजमा फैलाइँदै गरिएको मानसिक प्रतिगमनलाई चिर्ने कामको अगुवाई मुख्यतः सरकारले गर्नुपर्यो । त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्नुपर्यो । तर, कांग्रेसले जानेर तथा नजानेर मानसिक प्रतिगमनलाई नै सघाउ पुर्याइरहेको छ । मानसिक प्रतिगमनको विषवृक्ष झांगियो भने त्यसको शिकार सत्तापक्ष मात्र नभएर प्रमुख प्रतिपक्षसमेत हुन्छ भन्ने बुझ्नुपर्यो । 

मानसिक प्रतिगमनको ठाउँमा आशा र उत्साह जगाउनु आजको आवश्यकता हो । अन्धविरोधको ठाउँमा रचनात्मक आलोचना आजको आवश्यकता हो ।
 

प्रतिकृया दिनुहोस