विकास र समृद्धिका लागि जस्तोसुकै चुनौती समना गर्न तयार छाैं- प्रचण्ड
गोरखा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको भन्दै निरास हुन पर्ने अवस्था नरहेकाे बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय भवनको आज शिलान्यासपछि आयोजित कार्यक्रममा उनले याे सरकारले एक वर्षको अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक नीति तथा कानूनहरु निर्माण गरेको र अब विकासले गति लिने बताए ।
अहिले नेपाली जनताले सोचेको गतिमा विकास निर्माणका काम हुन नसकेको तर अब बिस्तारै जनताको अपेक्षाअनुसार काम हुने प्रचण्डले बताए । “यो एक वर्षको बीचमा धेरै ऐन कानूनहरु निर्माण गर्नुपर्ने सरकारको बाध्यता थियो”, अध्यक्ष दाहालले भने “हामीले ती कामहरु सकेका छौँ, अब नयाँ बजेट जनताको आकाङ्क्षा पूरा हुने गरी ल्याउँनेछौँ ।”
सरकारले ल्याउने आगामी आवकोे बजेटमार्फत पार्टीको चुनावी घोषणापत्रअनुसार वृद्धाभत्ता बढाउनेमा आफूहरु प्रतिबद्ध रहेको उनले बताए । “नेपाली जनताले आफ्नै सरकारको अनुभूति गर्ने गरी काम गर्न नसकेको सत्य हो, तर अब त्यसो हुँदैन”, उनले भने “अब ल्याउने नयाँ कार्यक्रममा जनताका महत्वकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्न हामी प्रतिबद्ध छौँ ।”
पूर्वाधार विकासका निम्ति योजना बनाउने धेरै राम्रा काम सरकारले अघि बढाएको बताउँदै अध्यक्ष दाहालले केही कमी कमजोरीका बाबजुद पनि बिस्तारै विकासको कामले गति लिएको बताए । “दुई तिहाइको सरकारले भष्ट्राचार अन्त्य गरिहाल्ला, विकासका काम तुरुन्त अघि बढाउला भन्ने जनतामा तीव्र चाहना थियो, ती कामहरु छिटो छिटो हुन नसकेको हामीले पनि अनुभूति गरेका छौँ,” उनले भने ।
सरकारले बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रमजीवी वर्गका लागि सामाजिक सुरक्षा कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रम घोषणा गरिसकेको भन्दै त्यसबाट जनतामा बिस्तारै आशा पलाउँदै गएको दाहालले बताए । “यस्ता खालका कार्यक्रमले जनतामा उत्साह थपेको छ”, उनले भने “परिवर्तन एकै पटकमा भइहाल्ने होइन निराश हुनुपर्ने अवस्था छैन ।”
अध्यक्षा दाहाल जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २४आँै स्मृतिसभामा पनि सहभागी भए । स्मृति सभालाई सम्वाेधन गर्दै दाहालले नेपालको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अझै केही काम गर्न बाँकी रहेको बताए- “बेपत्ता र शहीद परिवारलाई परिचयपत्र, रोजगारी राज्यले उपलब्ध गराउन नसक्दासम्म शान्तिप्रक्रियाले पूर्णता पाएको मानिँदैन, सरकार त्यही प्रक्रियालाई पूरा गर्न लागिरहेको छ .”
अध्यक्ष दाहालले जनयुद्धभन्दा पनि अहिलेको राजनीतिक युद्ध बढी चुनौतीपूर्ण रहेको बताउँदै नेकपाले नेपाली राजनीतिलाई नयाँ चरणमा अघि बढाएको बताए- “अहिलेको राजनीति युद्धभन्दा कम छैन । नेकपा र वर्तमान सरकारले त्यसलाई सचेत ढङ्गले अघि बढाइरहेको छ ।” उनले नेपाली राजनीतिले सबै घेरा तोडेर संविधान निर्माण गरेको भन्दै विकास र समृद्धिका लागि पनि जस्तोसुकै चुनौती समना गर्न तयार रहेको बताए ।


प्रतिकृया दिनुहोस