स्वर्गीय महेन्द्र नारायण निधी र सय वर्षे सत्यमाेहन जाेशी : नेपालका दुई विलक्षण पात्र
काठमाडौँ । बाँचिरहेका भए महेन्द्रनारायण निधी ९७ वर्षका हुने थिए । अहिले सत्यमाेहन जाेशी एक सय वर्षका भए । नेपालकाे प्रजातान्त्रिक आन्दाेलनका अमर याेद्धा हुन् निधी । उनकाे नाममा स्थापित महेन्द्रनारायण निधी पुरस्कार सत्यमाेहन जाेशीलाई अर्पण गरिएकाे छ ।
समकालीन नेपालका सर्वाधिक प्रतिष्ठित र सम्मानित नागरिक हुन् जाेशी । त्यसैगरी निधी नेपालकाे प्रजातान्त्रिक आन्दाेलनका शिखर पुरुष हुन् । जसकाे नाममा पुरस्कार स्थापना गरियाे अनि जसलाई अर्पण गरियाे, प्रशंसा लायक छ । र, पुरस्कार प्रदान गरिन् राष्ट्रपति विद्यादेवी भण्डारीले ।
महेन्द्र नारायण निधी पञ्चायती व्यवस्था ढलेपछि ०४७ मा कृष्णप्रसाद भट्टराईकाे प्रधानमन्त्रीत्वमा बनेकाे सरकारका जलस्राेत मन्त्री थिए । सादगीपूर्ण जीवन र छलकपट रहित व्यवहारका धनी निधी कांग्रेसका महामन्त्री समेत रहेका थिए ।
राजधानीमा सत्यमाेहन जाेशीलाई 'महेन्द्रनारायण निधी राष्ट्रिय पुरस्कार' प्रदान गर्दै राष्ट्रपति भण्डारीले सरल र सादगी व्यक्तित्वका धनी महेन्द्रनारायण निधी सबैका लागि प्रेरणाको स्रोत भएको बताइन् । महेन्द्रनारायण निधी प्रतिष्ठानले स्वर्गीय निधीको ९७ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वर्गीय निधी नेपालको प्रजातान्त्रिक आन्दोलनकाे इतिहासमा एक ‘निधी’का रुपमा रहेकाे बताइन् ।
राससले प्रेषित गरेकाे समाचार अनुसार राष्ट्रपतिले भनिन्, “निधीले अङ्गाल्नुभएको निष्ठाको राजनीति सबैका लागि स्मरणीय छ । अहिंसा, शान्ति, सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक अभियन्ता स्व निधी सदाचार जीवन र उच्च जीवनका अनुपम उदाहरण हुनुहुन्थ्यो ।”
स्व निधी नेपालको प्रजातान्त्रिक आन्दोलनका ‘युग पुरुष’ भएको उल्लेख गर्दै जनताको हकअधिकार प्राप्तिमा सधैँ अग्रपङ्क्तिमा रहेर लडेका निधीले प्राप्त प्रजातन्त्र, जनताको हकहितको संरक्षण एवं संवद्र्धनमा समेत आफूलाई समर्पित गर्नुभएको बताइन् ।
राष्ट्रपतिले भनिन्, “पद र पार्टीभन्दा माथि देश र जनालाई ठूलो ठान्ने स्व निधीका मूल्यमान्यता अनुकरणीय र अनुसरणीय छ ।” विचारअनुरसारको व्यवहार र वचनअनुसारको कर्मको विशिष्ट प्रतिबिम्बका रुपमा रहनुभएका स्व निधीबाट अहिलेका राजनीतिक पुस्ताले समेत सिक्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले अगाडि भनिन्, “सत्यको बाटोमा एक्लै भए पनि हिँड्ने निधीको स्वभाव र सङ्घर्ष उहाँका उदाहरणीय पाठका रुपमा रहेको छ । पद क्षणिक हुन्छ तर प्रतिष्ठा हासिल गर्न लामो तपस्या, सङ्घर्ष र सत्कर्मको खाँचो पर्दछ भन्ने निधीको आदर्श भावना मननयोग्य छ ।”
स्व निधीलाई प्रजातन्त्रिक आन्दोलनसँग जोड्ने राष्ट्रिय दृष्टिकोणको नेता र आम नेपालीको नेता भएको स्मरण गर्दै उनले राष्ट्रिय एकता र सद्भावको भावनालाई बलियो बनाउन स्व निधीले राष्ट्रिय राजनीतिमा खेल्नुभएको भूमिका वर्तमान र भविष्यका लागिसमेत सान्दर्भिक हुने बताइन् ।
पुरस्कार प्रदान
कार्यक्रममा राष्ट्रपति भण्डारीले स्व निधीको सम्मानमा स्थापित ‘महेन्द्रनारायण निधी राष्ट्रिय पुरस्कार’ तथा उनकी धर्मपत्नीको सम्मानमा स्थापित ‘प्रेमसागरीदेवी निधी पुरस्कार’ २०७४ र २०७५ बाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्नुहुने व्यक्तित्वलाई प्रदान गरेकी थिइन् ।
राष्ट्रपतिले २०७४ सालको ‘महेद्रनारायण निधी राष्ट्रिय पुरस्कार’ वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिएका डा. गौरीशङ्करलाल दासलाई संयुक्त रुपमा प्रदान गरिन् । उक्त पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । २०७४ सालको ‘प्रेमसागरीदेवी निधी पुरस्कार’ महिला चेतना विस्तार र जागरणमा सक्रिय कुमारीलक्ष्मी राईलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।
त्यस्तै राष्ट्रपति भण्डारीले २०७५ सालको ‘महेन्द्रनारायण निधी राष्ट्रिय पुरस्कार’ प्रजातान्त्रिक योद्धा तीर्थराम डङ्गोल र मानवअधिकारवादी रामनारायण देवलाई संयुक्त रुपमा प्रदान गरिन् । २०७५ सालको ‘प्रेमसागरीदेवी निधी पुरस्कार महिला जागरणका साथै सामाजिक सुधार अभियानमा संलग्न शान्ति कार्की र मानवअधिकारका लागि एकल महिलाको संरक्षण संरक्षणकी अध्यक्ष मैना कार्कीलाई प्रदान गरियो ।
सो अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आस्था र अहिंसाप्रतिको अडान नै निधीको आदर्श भएको बताए । स्व निधीको व्यक्तित्वको मौलिकता असाधारण पाएको उल्लेख गर्दै उनले स्व निधी नेताको पनि नेता हुनुहुन्थ्यो भने ।
कार्यक्रममा स्व निधीका पुत्र एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले पुरस्कृत अतिविशिष्ट व्यक्तित्वले समाज सुधारमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे । पुरस्कार छनोट समितिका संयोजक डा बिमल कोइरालाले स्व निधीको आदर्शसँग मेल खाने र समाजमा विशिष्ट योगदान पुराएका व्यक्तित्वलाई छनोट गरिएको बताए । पुरस्कार छनोट समितिमा डा कोइराला, प्राडा कुमार कोइराला, प्रा नवेन्द्र निधी र दुर्गा घिमिरे सहभागी रहेकाे जानकारी दिइयाे ।
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले स्व निधीका जीवनका विभिन्न पक्षमाथि अनुसन्धान गरी पुस्तकका रुपमा कृति प्रकाशन गरिने याेजना रहेकाे बताए । अहिंसा, शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा समुदायकाबीच सद्भावनाका अभियानकर्मी स्व निधीको सम्मानमा २०७० सालदेखि समाजमा जागरण ल्याउन भूमिका खेल्ने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठान विसं २०५८ मा स्थापना भएको हो ।


प्रतिकृया दिनुहोस