ओली भन्छन्– म आजादलाई आदर्श मान्छु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आदर्श सहिद ऋषि देवकोटा आजाद भएको बताएका छन् । आजादलाई ०३८ सालमा तत्कालीन पञ्चायती सरकारले हत्या गर्दा आफू जेलमा रहेको र पहिले त विश्वाश नै नगरेको बताएका छन् ।
‘सहिद ऋषि देवकोटा आजाद : नेपाली क्रात्किा अभिमन्यू’ कृति लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले ०३७ सालको जनमत संग्रह पछि राजनीतिक बातावरण केही खुकुलो भएको, क्रान्तिकारीहरुको मनोबल बढेको, सत्ताधारीहरुको मनोबल खस्किएको अवस्थामा आजादको हत्या गरिनु अस्वाभाविक थियो भने । जेलभित्रै खबर पाएको र त्यसको धेरै समयपछि हत्या गरिएकै हो भन्ने पुष्टि भएपछि शोक सभा गरेको उनले सम्झिए ।
‘मभन्दा उहाँ आठ वर्ष जेठो हो तर मैले उहाँलाई भेट्न पाइन, उहाँको चर्चा सुन्थ्यौं । हत्यापछि उहाँको बारेमा झन धेरै कुरा थाहा पाएँ’– प्रधानमन्त्री ओलीले अगाडि भने– ‘उहाँ साहित्यकार, विचारक, विश्लेषक, नेता हुनुहुन्थ्यो । गौतम बुद्धलाई पनि हामी कसैले भेटेका छैनौं तैपनि उनलाई हामी चिन्छौं, अनुयायी हौं । त्यसैगरी आजादलाई पनि मैले भेटेको थिइन तर म उहाँलाई आदर्श मान्छु । आजाद बहुआयामिक व्यक्तित्वका हुनुहन्थ्यो, क्रान्तिकारीहरु बहुआयामिक व्यक्तित्वका हुन्छन् ।’
ओलीले भने– ‘ऋषि देवकोटा महान क्रान्तिकारी हुनुहुन्थ्यो । उहाँ चन्दा उठाउने क्रान्तिकारी हुनुहुन्नथ्यो, वम पड्काएर चन्दा उठाउने, पैसा उठाउने क्रान्तिकारी पनि देखिएका छन् तर आजाद सच्चा क्रान्तिकारी हुनुहुन्थ्यो । त्यसैले ऋषि देवकोटा आजाद हामी माझ जिवित हुनुहुन्छ ।’
आइतबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले सहिद आजादलाई भेटेको र प्रभावित भएको प्रसंग सुनाउँदै आजाद जस्ता क्रान्तिकारीहरुको नैतिक प्रेरणाले नै कम्युनिष्ट पार्टी अगाडि बढेको र सफल भएको बताए ।
आजादकी धर्मपत्नी तथा अनेमसंघकी कार्यवाहक अध्यक्ष गोमा देवकोटाले आजादको व्यक्तित्व तथा योगदानबारे पुस्तक प्रकाशित गर्ने सोंच पहिलेदेखि नै भए पनि अहिले आएर मात्र प्रकाशन सम्भव भएको बताइन् ।
सांसद तथा पूर्व मन्त्री हरिबोल गजुरेलले नेपालको कम्युनिष्ट आन्दोलनमा सहिद आजाद विलक्षण व्यक्तित्व थिए भने । आजादबाट प्रेरित भएर आफू क्रान्तिकारी आन्दोलनमा लागेको उनले बताए ।
सहिद ऋषि देवकोटा आजाद स्मृति प्रतिष्ठानले प्रकाशित गरेको सो पुस्तकका सम्पादक गोविन्द गजुरेल र विवश वस्ती हुन् । सम्पादकद्धयले १६ वर्ष लगाएर पुस्तक तयार पारिएको बताए । उनीहरुको भनाइ थियो– आजादका बारेमा सामग्री संकलन गर्न समय लाग्यो, हामीले पनि यही पुस्तकका लागि मात्र निरन्तर समय दिन सकेनौं, त्यसैले ढिलो भयो ।
वस्तीको भनाइ थियो– ‘ढिलो भए पनि पुस्तक राम्रो भएको छ भन्ने लागेको छ ।’


प्रतिकृया दिनुहोस