आततायी घटनामा कांग्रेस बोल्यो, मुख खोल्यो
काठमाडौं । अन्ततः नेपाली कांग्रेसले शुक्रवार काठमाडौंमा वम विष्फोट गराई एकजनाको हत्या गरिएको र देशका विभिन्न ठाउँमा गरिएको आगजनीको भत्र्सना गरेको छ ।
शुक्रवार गरिएका श्रृङखलावद्ध आततायी घटना सम्बन्धमा कांग्रेसका सीमित नेता बाहेक अरुले मुख खोलेका थिएनन् । न त कांग्रेसले विज्ञप्ति नै जारी गरेको थियो ।
घटनाको दुई दिनपछि आइतबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले घटनाको कडा शब्दमा निन्दा गरेको छ । वैठकले गरेको निर्णय नम्बर तीनमा लेखिएको छ– ‘हालै देशका केहि स्थानमा भएका बम विष्फोटका घटना र त्यसबाट भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिँदै त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछ र यस्तो आततायी कामको घोर निन्दा गर्दछ ।’
वैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको निर्णय अनुसार शुक्रवारका श्रृङखलावद्ध घटनालाई कांग्रेसले ‘आततायी काम’ ठहर गरेको छ ।
कांग्रेस वैठकले घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै तत्काल राहत रकम उपलब्ध गराउन र सबै घाइतेको सम्पूर्ण उपचार निःशुल्क गराउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
‘एनसेलका कैयन टावरहरुमा पु¥याइएको क्षतिले केवल सो संस्थालाई मात्रै असर पुग्ने होइन, राष्ट्रकै सम्पत्ति नष्ट हुने विषयप्रति गम्भीरता जरुरी छ’– कांग्रेस निर्णयमा उल्लेख छ ।
दशक लामो हिंसाबाट भर्खरै मुक्त भएर शान्तिपूर्ण ढंगले अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो बहानामा फेरि पनि हिँसाले प्रवेश पाउनु अत्यन्तै दुःखद भएको ठहर गर्दै कांग्रेस निर्णयमा भनिएको छ– ‘सरकार यसप्रति गम्भीर बनोस्, शान्ति सुरक्षा कायम गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’


प्रतिकृया दिनुहोस