• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कांग्रेसमा विरलै हुने घटना : बहुमत–अल्पमतको अभ्याश, बहुमतले पारित गर्यो विधान

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिमा बहुमतको अभ्याश गर्दै विधान पारित भएको छ । कांग्रेसमा आन्तरिक चुनावमा बहुमतको अभ्याश हुने गरेको भए पनि समितिहरुले निर्णय गर्दा सामान्यतया बहुमतबाट नभएर सहमतिमा निर्णय गरिन्थ्यो । 

आइतबार केन्द्रिय समितिको तनावपूर्ण वैठकमा बहुमतको आधारमा विधान पारित गरिएको हो । तीन महिना अघि सम्पन्न महासमिति वैठकले पारित गरेको विधानमा थपघट गरेर केन्द्रिय समितिले पारित गरेको हो । महासमिति आफूले टुंग्याउन नसकेका विषयहरु टुंग्याउने अख्तियारी केन्द्रिय समितिलाई दिइएको थियो । सोही अख्तियारी बमोजिम महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले बहुमतले गरेको संशोधनलाई केन्द्रिय समितिले अनुमोदन गरेको हो । 

पार्टी सभापति शेरबहादुर देउवा पक्षले चाहे अनुसार नै विधानका प्रावधानहरु राखिएको छ । देउवा विरोधी खेमाहरुले पार्टी केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि बन्न नपाउने, चुनाव लडेर नै आउनुपर्ने व्यवस्था राख्न चाहेका थिए । तर, सभापति देउवा पक्षधरले मानेनन् । फलतः केन्द्रिय सदस्यहरु स्वत प्रतिनिधि बन्ने व्यवस्था राखेर विधान पारित गरिएको छ । 

विवादको अर्काे विषय आरक्षणलाई लिएर थियो । एक पटक आरक्षण पाइसकेको व्यक्तिले दोहोराएर आरक्षण पाउन नहुने व्यवस्था राख्ने अडान देउवा पक्षले लिएको थियो । सो पक्षले चाहे अनुसारकै व्यवस्था राखेर विधान पारित गरिएको छ । 

‘बहुमतबाट विधान पारित गरिएको हो तर भोटिङ नै चाहिँ भएन’– एक केन्द्रिय सदस्यले सनराइज खबरलाई बताए । असहमत पक्षका नेताहरुले फरक मत दर्ज गराएका छन् । 

केन्द्रिय सदस्यले पनि तलबाटै चुनिएर आउनु नपर्ने, स्वत प्रतिनिधि बन्ने व्यवस्थाको पक्षमा विगतमा पार्टी नेता रामचन्द्र पौडेल पनि देखिएका थिए । तर, पछिल्लो कालमा उनी पनि सो व्यवस्थाको विपक्षमा उभिएका थिए । 

विधान उपरको छलफल तथा पारित गर्दा सम्म संस्थापन देउवा पक्षको विरुद्धमा रामचन्द्र पौडेल खेमा र कृष्णप्रसाद सिटौला खेमा एक ठाउँमा उभिएका थिए । 

कांग्रेसले महासमिति वैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि केन्द्रिय समिति वैठकले पारित गरेको छ ।


 

प्रतिकृया दिनुहोस