भेनेजयुलामा बाेल्ने नेकपा देशमै आततायी घटना हुँदा चाहिँ मौन
काठमाडौं । शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरमा भाषण गरे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाहिँ पोखरामा भाषण गरे । दुवैको भाषणमा एउटा समानता थियो– एकजनाको ज्यान जाने गरी भएको वम विष्फोट तथा धेरै ठाउँमा गराइएको श्रृङखलावद्ध आततायी घटना सम्वन्धमा दुवैले एक शब्द पनि बोलेनन् ।
आतंकवादी शैलीमा देशव्यापी रुपमा गराइएको श्रृङखलावद्ध घटनाले शान्ति सुरक्षामा ठाडै प्रश्न उठ्यो तर प्रमुख प्रतिपक्षी कांग्रेसले यो विषयबाट भाग्ने प्रयत्न गर्यो । सदावहार टिप्पणीकार भनी कहलिएका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत घटना भएको दोस्रो दिनसम्म केही बोलेका छैनन् ।
आमचुनावपछि मुलुक शान्तिकालमा प्रवेश गरेको मानिँदै आएको छ । मुलुकको शान्ति भंग हुनेगरी भएको आततायी हमला बारे मानवअधिकार तथा शान्ति समाजले विज्ञप्ति जारी गर्यो तर मानवअधिकारवादी भनिने अधिकांश संस्थाहरु भने अहिलेसम्म रहस्यमय मौनव्रत बसिरहेछन् ।
शनिवार नै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले पनि सार्वजनिक भाषण गरे तर मुलुकको शान्तिलाई भंग गर्ने प्रयत्नस्वरुप गरिएको वम विष्फोट र आगजनीका श्रृङखलावद्ध घटनाबारे एक शब्द बोलेनन् ।
भेनेजुयलामा बकबक
केही समय अघि मुलुकमा सर्वाधिक चर्चाको विषय बनेको थियो– भेनेजुयला । भेनेजुयलाको आन्तरिक राजनीतिमा नेपाली समाजले धेरै नै बकबक गर्यो । खासगरी नेकपाका नेताहरुले भेनेजुयलाबारे अनावश्यक बकबक गरेका थिए ।
भेनेजुयला बारे नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति नै जारी गरेका थिए । भेनेजुयला बारे विज्ञप्ति जारी गर्ने प्रचण्डले शनिबार १५ मिनेट भाषण गर्दा देशव्यापी रुपमा गराइएको आततायी क्रियाकलाप बारे बोल्दै बोलेनन् । उनले घाइतेको स्वास्थ्य लाभ र मृतकलाई समवेदना समेत भनेनन् ।
सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसले श्रृङखलावद्ध आततायी घटना सम्वन्धमा विज्ञप्ति जारी नगर्नु लापर्वाही मात्र होइन भन्छन् राजनीति शास्त्री कृष्ण बस्नेत । उनी भन्छन्– ‘सत्तारुढ पार्टीले आफ्नै सरकारले प्रतिकार गरिरहेछ, सरकार बोलिरहेछ त्यसैले बेग्लै विज्ञप्ति जारी गर्न आवश्यक छैन भन्ने ठानेको होला ।’
तर, प्रमुख प्रतिपक्षी कांग्रेसले श्रृङखलावद्ध आततायी घटनाबारे नबोल्नु आश्चर्यको कुरा ठान्छन् बस्नेत ।
मुलुकको शान्ति सुरक्षामा चुनौति देखिनु सत्तापक्ष र प्रतिपक्षको ठूलो सरोकारको विषय हो र प्रतिपक्षीका लागि सरकारको विरोध गर्ने मुद्दा पनि हो । अनावश्यक मुद्दा उछाल्ने तर उठाउनुपर्ने मुद्दाबाट भाग्ने कांग्रेसको शैली स्वयं कांग्रेसका लागि कालान्तरमा घातक हुने कृष्णको विचार छ ।
तर, युवा संघ..
विवेकशील साझा र विवेकशील दलले श्रृङखलावद्ध आततायी घटनाको निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् ।
उता, प्रमुख प्रतिपक्षी कांग्रेसका भ्रातृ संगठनहरु पनि मातृ पार्टीजस्तै मौन छन् । ‘कांग्रेसका भ्रातृ संगठनहरुले शान्ति सुरक्षा बलियो बनाउ, दोषीलाई कारबाही गर भन्दै तत्काल जुलुस निकाल्न सक्नुपथर््यो’– कृष्ण भन्छन् ।
सामाजिक संजालहरुमा पनि श्रृङखलावद्ध आततायी घटना सम्वन्धमा कांग्रेस नेताहरु मौन जस्तै देखिए । घटना भएको ललितपुर जिल्लाका कांग्रेस नेता उदय शमशेर राणाले आततायी घटनाको विरोधमा ट्वीटरमा लेखेका छन्, त्यसैगरी गगन थापाले पनि लेखेका छन् । ट्वीटरमा सक्रिय डा. रामशरण महतले शनिबार अन्य विषयमा लेखे पनि श्रृङखलावद्ध रुपमा गरिएका आततायी घटनाबारे केही लेखेका छैनन् ।
सत्तारुढ नेकपाले पार्टीगत धारणा सार्वजनिक गर्न आवश्यक नठाने पनि सो पार्टीको भ्रातृ संगठन युवा संघ नेपालले भने घटनाको कडा निन्दा गरेको छ । संघका अध्यक्ष रमेश पौडेलले विज्ञप्ति जारी गरेर आतंककारी शैलीको घटना गराइएकोमा विरोध गर्दै मृतक प्रति श्रद्धान्जली र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।
युवा संघले दोषीहरुलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।


प्रतिकृया दिनुहोस