• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रेसमाथिको हस्तक्षेप कांग्रेसले नसहने

रासस

रासस

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै पनि किसिमका हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा पुरस्कार वितरण समारोहमा देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रता माथि आक्रमण गर्न उद्यत रहेको आरोप लगाए । 

सभापति देउवाले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा अन्योन्याश्रित भएको बताए । वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको भन्दै उनले हिजो जथाभावी सपना बाँडेको सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाए । 

विसं २००७ देखि प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका पक्षमा निरन्तर सङ्घर्ष गरेको काङ्ग्रेस लोकतन्त्रको रक्षा एवं प्रेस स्वतन्त्रताका पक्षमा सधैँ क्रियाशील बन्ने विश्वास उनले व्यक्त गरे। साे अवसरमा सभापति देउवाले नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिरजंग शाहलाई सम्मान गर्नुभयो । 
रु ३५ हजार ५५५ नगदसहितको साे पुरस्कार दुई जनालाई संयुक्तरुपमा प्रदान गरिएको हो । कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले पनि मन्तब्य राखेका थिए । त्यसैगरी गङ्गाधर पराजुली, हरिहर विरही,  माधव रेग्मी,  प्रकाशचन्द्र सापकोटालगायतले पनि प्रेस स्वतन्त्रताको पक्षमा आ–आफ्ना भनाइ राखेका थिए ।

प्रतिकृया दिनुहोस