भेनेजुयला जस्ता प्रकरणमा नबोलौं : शक्ति राष्ट्रहरुको झमेलामा नफसौं
सेप्टेम्बर १२, १९९२ मा पेरुको राजधानी लिमाको एउटा घरबाट पक्राउ परेका सशस्त्र माओवादी संगठन साईनिङ पाथका अध्यक्ष अभिमायल गुन्जमान अर्थात गोन्जालोको रिहाईको दबाबका लागि तत्कालिन प्रतिनिधीसभाका पाँच दर्जन बढि सदस्य तथा हजारौं नेपालीको पत्र रिहाईको दबाब दिन स्विट्जरलेण्डको जेनेभामा खोलिएको कार्यालयमा पुगे ।
सात समुद्र पारीको, सांस्कृतिक, भाषिक, ऐतिहासिक दृष्टिले पेरुसँग लगभग कुनै प्रकारको सम्बन्ध नरहेको नेपालबाट त्यो परिणाममा पत्र जानुले धेरैलाई आश्चर्यमा पार्यो । तर, त्यसको कारण थियो, पछि साईनिङ पाथकै ढाचामा जनयुद्ध सुरु गर्ने योजना बनाउँदै गरेको एकता केन्द्रको खुला संगठन संयुक्त जनमोर्चाको पहल । संसदमा जम्मा ९ सिट रहेको जनमोर्चाको पहलले नेपालमा त्यत्रो आकारको प्रभाव पर्नुको कारण थियो, उसको अन्तर्राष्ट्रिय कम्युनिष्ट भाईचाराको नारा । त्यही नाराले सशस्त्र गतिविधि सधैंका लागि छाडेको कसम खाएर संसदीय पार्टी बनेको एमालेदेखि साना कम्युनिष्ट पार्टीका सांसदहरुलाई चिठ्ठी पठाउने गरी प्रभावित पारेको थियो ।
पेरुमा सत्ता बिप्लव गर्न लागेका गोन्जालोलाई त्यहाँको सरकारले आतङ्कवादी नियन्त्रण कानुन अन्तरगत पक्राउ गरेको थियो र आजीवन कारावासको सजाय दिएको थियो । उनी छुट्ने या नछुट्ने त्यहीँको परिस्थितिले निर्धारण गथ्र्याे, नेपाल या संसारका अरु मुलुकबाट पठाइएको पत्र या अन्य किसिमको दवाबले काम गर्ने तथा असर गर्ने अवस्था थिएन ।
गोन्जालो पक्राउ पर्दाका राष्ट्रपति अल्बर्टाे फुजिमोरी गैरन्यायिक हत्या र राजनीतिक शक्तिको दुरुपयोगको आरोपमा अहिले जेल पुग्दा पनि गोन्जालो आजिवन कारवास नै भोगिरहेका छन् ।
दक्षिण अमेरिकामा अर्थात् पेरुको ठिक उत्तरमा पर्ने मुलुक भेनेजुयलाको पछिल्लो घटनाको सन्दर्भमा नेपालमा झण्डै इतिहास दोहोरिन पुगेको छ । केही दिनअघि भेनेजुयलाका राष्ट्रिय सभाका प्रमुख हुवान गुएइदोले एउटा विरोध प्रदर्शनमा आफूलाई मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरे । गत वर्ष राष्ट्रपतिमा निर्वाचित निकोलश मदुरोविरुद्धको यो घोषणाको पक्षमा अमेरिकी धुरीका विभिन्न देशहरुका साथै दक्षिण अमेरिकाका अधिकांश राष्ट्र देखिएका छन् भने रुस, चीन, मेक्सिको, टर्की, इरान, क्युवालगायत राष्ट्रहरु चाहिँ भेनेजुयलामाथि हस्तक्षेप भएको पक्षमा उभिएका छन् ।
पेरु जस्तै नेपालसँग ऐतिहासिक, सांस्कृतिक, भाषिक दृष्टिले नजिक सम्बन्ध नरहेको भेनेजुयलाको सत्ता संघर्षमा सत्तारुढ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मदुरोको पक्षमा उभिएर वक्तव्य निकालेपछि भने धेरैलाई आश्चर्यमा पारेको छ । यसले, शक्ति राष्ट्रहरुको विवादमा हमेसा बच्दै आएको तथा असंलग्न परराष्ट्र नीति लिएको नेपाललाई शक्ति राष्ट्रहरुको कुनै कित्तामा उभ्याइने खतरामा त पुर्याउँदैन भनेर धेरैले चिन्ता व्यक्त गरेका छन् भने कैयौंले यसको कारण पनि खोज्न थालेका छन् ।
भाइचारा र अन्तराष्ट्रियवादको लफ्फाजी
नेपालका कम्युनिष्टहरु कतिसम्म अन्तराष्ट्रिय मामिलामा आफ्ना धारणाहरु राख्छन् र त्यसमा पक्ष विपक्षमा उभिन्छन् भन्ने नियाल्दा धेरैलाई आश्चर्यमा पार्छ । चीनमा कम्युनिष्ट पार्टीका अध्यक्ष माओको निधनपछि उनकी कान्छी पत्नी चियाङ चिङलगायत चार जनाको समूह शक्तिबाट हट्यो र देङ सियाओ पिङ सत्तामा आए । चिङ समूहलाई ठिक मान्ने नेपालका एकथरी कम्युनिष्टले नेपालका गाउँ गाउँका भित्तामा ‘गद्धार देङ मुर्दावाद’ लेखे । सन् १९९२ पछि पेरुको राष्ट्रपति फुजीमोरीको विरोध, गोञ्जालोको रिहाई तथा अमेरिकालाई घर फर्कन भन्दै ‘गो याङ्की गो होम’ को नाराले पनि नेपालका भित्ता रङ्ग्याइएका थिए ।
भियतनाममा अमेरिकी आक्रमण तथा कम्बोडियामा भियतनामको आक्रमणको विरोधमा नेपालका कम्युनिष्टहरुले नारा लगाए । रुस र चीनबीचको विवादमा नेपालका कम्युनिष्टहरु दुई कित्तामा उभिए । रुसले क्युवामा मिसाइल पठाउँदाको चीन पक्षका कम्युनिष्टरुले विरोध गरे । क्युवा अफ्रिकी मुलुक अंगोलाको लडाईमा मिसियो, त्यसमा पनि नेपालका कम्युनिष्टहरुले धारणा बनाए तथा त्यसलाई प्रचार गरे । उग्रता कम हुँदै जाँदा भने नेपालका कम्युनिष्टहरुमा अन्तराष्ट्रिय मामिलामा संयमित हुने चरित्र आउन थालेको देखिन्छ ।
कथित भाइचारा र अन्तराष्ट्रियवादको चरित्र यस्तो हुन्छ कि, उक्त विषयमा आफ्नो धारणा, विरोध र समर्थनले के प्रभाव पर्छ भन्ने हेक्का रहँदैन । जस्तो कि, नेपालका सुदुर गाउँ र शहरमा गोञ्जालोको रिहाईमा भित्ता रङ्ग्याउँदा कुनै अर्थ लागेन । नेपालमा देङको बिरोध गरेर न देङको लोकप्रियता घट्यो न चीनको खुलापन र विकास नै रोकियो । भेनेजुयलाको वर्तमान शक्ति संघर्षमा पनि त्यहाँको सेनाको निर्णायक भूमिका रहने अन्तर्राष्ट्रिय संचार माध्यमहरुको विश्लेषण छ र अहिलेसम्म सेना राष्ट्रपति मदुरोकै पक्षमा उभिएको छ । सम्पूर्ण सेनालाई मदुरोको बिपक्षमा उभ्याउन वा सेनाको एउटा पंक्तिलाई फुटाउन अमेरिकाको प्रयास अहिले चलिरहेको समाचार आइरहेको छ । त्यसो भयो भने आर्थिक रुपमा टाट पल्टिएको, झण्डै एक चौथाई जनसंख्या बिदेशिएर देश अस्तव्यस्त बनेको तथा देशमा रहेको जनसंख्यामा पनि झण्डै आधीआधी पक्षविपक्षमा उभिएकाले मदुरो कमजोर बन्न सक्छन् र गुएइदो घोषणा गरे जस्तै अन्तरिम राष्ट्रपति हुन सक्छन् ।
यस्तो हुँदा, चीन र रुसको विरोध समेत अर्थहिन हुनसक्छ । किनभने, दोश्रो बिश्वयुद्धपछिका घटनाहरु हेर्ने हो भने, कुनै देशमा अमेरिका र रुस दुईमध्ये जो प्रत्यक्ष संलग्न हुन्छ, एकका विरुद्ध अर्काे देश त्यहाँ प्रत्यक्ष रुपले जाने गरेका छैनन् । रुस या अमेरिका कुनै मुलुक हस्तक्षेपमा संलग्न भएमा हस्तक्षेपमा संलग्न भएको मुलकले आफ्ना समर्थकहरुलाई हतियार वा आर्थिक सहायता दिएर युद्ध चर्काउने गरेको देखिएपनि एउटा शक्ति राष्ट्र युद्धमा प्रत्यक्ष संलग्न भएपछि अर्काे त्यहाँ नगएको पछिल्लो पटक सिरियामै देखियो ।
आफ्नो नजिक रहेको तथा पेट्रोलियम पदार्थको ठूलो खानी रहेकाले भेनेजुयलामा अमेरिकाको स्वार्थ टड्कारो छ । मदुरोका गुरु ह्युगो चाभेजकै बेलादेखि अमेरिका त्यहाँको वामपन्थी सरकार जसरी पनि हटाउन लागिपरेको थियो तर सकेन । किनभने त्यहाँ चाभेज निकै लोकप्रिय थिए भने उनको पकड पनि दह्रो थियो, त्यसैले अमेरिकाका लागि अनुकूल भइरहेको थिएन ।
क्यान्सरबाट चाभेजको मृत्यु भएपछि सत्तारुढ बनेका मदुरोले लोकप्रियता उल्लेखनी यरुपले घटाएपछि गुएइदोलाई असंवैधानिक कदम चाल्न उकास्ने तथा त्यसलाई समर्थन गर्ने वातावरण अमेरिकाका लागि बनेको हो ।
वास्ता गर्नु हुँदैन, नेपालले
भेनेजुयलाको अहिलेको शक्तिसंघर्ष अन्तराष्ट्रिय मामिलामा रुची राख्ने तथा विज्ञ नेपालीका लागि सरोकार र अध्ययनको बिषय निश्चय नै बन्न सक्छ । विद्वानहरु यस विषयमा आफ्नो विचारहरु राख्न संचार माध्यममा जान सक्छन्, गोष्ठी सेमिनार आयोजना गर्न सक्छन् । साना संघ संस्थाहरुले पक्ष विपक्षमा आफ्ना धारणा सार्वजनिक गर्दा पनि फरक पर्दैन । तर, हाम्रो वर्कतले नभ्याउने, त्यहाँको जय पराजयले हामीलाई खासै ठूलो अर्थ नराख्ने विषय हो । त्यसैले यो विषयमा देशको प्रतिनिधित्व गर्ने संस्था उभिन हुँदैन ।
नेकपा अहिले झण्डै दुर्ई तिहाई बहुमत पाएर सरकार चलाइरहेको छ । देशले लामो समयपछि मान्य संविधान, बलियो सरकार र राजनीतिक स्थिरता पाएकाले अबको हाम्रो बाटो मुलुकलार्ई आर्थिक रुपमा अघि बढाउने हुनु पर्छ । सरकारले ठिकै भनेको छ– हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को बाटोमा हिडेका छौं । त्यस बाटोमा हिड्न, देशभित्र शान्ति त हुनै पर्छ, उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग पनि हामीले सुमधुर सम्बन्ध निर्माण गर्नुपर्छ । वर्तमान सरकारले चीनसँग सम्बन्ध निर्माण गर्दै भारतसँग बिग्रेको सम्बन्ध सुधार गर्ने बाटो लिएको छ, जसले धेरै हदसम्म सफलता पाएको पनि देखिन्छ ।
अहिले पनि संसारमा सबै दृष्टिले अमेरिका शक्तिशाली छ भन्ने नेपालले बिर्सन मिल्दैन । चीन आर्थिक रुपले दोश्रो शक्तिशाली मुलुक बनेको छ, तर समग्र क्षेत्रमा उ अमेरिका बराबर बन्न अरु धेरै वर्ष लाग्ने बताइन्छ । अमेरिकालाई चीनले उछिन्यो नै भनेपनि अमेरिका हाम्रो दशकौं देखिको प्रमुख दाता राष्ट्र हो । यसैले, त्यसबेला पनि उसँगको सम्बन्ध र उसको सहयोग हाम्रो लागि अहिले जत्तिकै मूल्यवान हुनेछ । जापान र युरोपेली देशहरु पनि हाम्रा पुराना सहयोगी हुन् । यी सबैबाट सहयोग नलिई हामी अघि बढ्न सक्दैनौं ।
यसरी बोल्नुपर्छ
यसको अर्थ, नेपाल सधै दब्बु भएर बस्नुपर्छ भन्ने कदापी होइन । नेपाल बोल्नुपर्छ, तर आफ्नो सरोकारको विषयमा । नेपालको हितलाई कसैबाट प्रतिकूल हुन खोज्यो भने नेपालले सक्दो ठूलो स्वरमा कराउँदा हुन्छ, पर्छ । त्यो अवस्था तार्किक र न्यायोचित सबै ठहर्छ । अमेरिका, बेलायत, जापान, कोरिया, युरोपेली मुलुक, चीन वा भारत कतै नेपाली समुदायमाथि थिचोमिचो भयो भने नेपालले तत्काल प्रतिक्रिया जनाउनु पर्छ । त्यस्तो अवस्थामा ठूलो, शक्तिशाली र धनी छ भन्दैमा चुप लाग्नु हुदैन ।
आफ्ना स्वार्थका लागि शक्ति राष्ट्रका स्वार्थ टकराउँछन् र हाम्रा आँखाले कुनै बेला उनीहरुमध्ये कसैको बलमिच्याई देख्नसक्छ । त्यस्तोमा, हामीले आफूलाई एकातिर उभ्याइहाल्ने या एउटाको पक्षमा बोलिहाल्ने हो भने हामी उनीहरुको द्वन्द्वमा मुछिने छौं । कुनै विद्वानले भनेका छन्– सबैले आफ्नो टाउको माथिको आकाशको भार मात्र थेग्न सक्छ, संसारकै भार थेग्छु भनेर हिँड्दा गलत ठाउँमा पुगिन्छ । त्यसैले, ‘वल्र्ड अर्डर’ भनिने अहिलेको विश्व व्यवस्थालाई न्यायोचित बनाउने जिम्मेवारी अहिलेका लागि हाम्रो होइन । त्यता लाग्यौं भने प्रहरीको भूमिकामा रहेकाहरुले टाउको फुट्नेगरी हामीलाई बजाउने खतरा आइलाग्छ ।
नेपाललाई खतरामुक्त बाटोबाट अघि बढाउने जिम्मेवारी जनताले अहिले नेपालका कम्युनिष्टहरुलाई दिएका छन् । आफ्नो विश्वास र अभ्यासका नाममा कम्युनिष्टहरुले खतरापूर्ण बाटोमा मुलुकलाई लगे तथा गाडी कुनै भिरमा लगेर दुर्घटनामा पारे भने जनताले दिएको जिम्मेवारीमा ठूलो धोका हुनेछ । त्यसैले, अन्तस्करणमा कतै बाँकि रहेको कम्युनिष्ट अन्तराष्ट्रियतावाद र भाईचारालाई बाहिर निस्कन नदिई जनताले दिएको जिम्मेवारी पूरा गर्नु नै अहिले नेपाली कम्युनिष्टहरुको कर्तव्य हो । आशा र विश्वास गरौं, यो जिम्मेवारी नेकपा र उसको नेतृत्वको सरकारले पूरा गर्नेछ ।


प्रतिकृया दिनुहोस