• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रधानमन्त्री ओलीले बिताएको त्यो तीस घन्टा

वेद कठायत

वेद कठायत

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूर पश्चिम क्षेत्रमा ३० घन्टा बिताए । ओलीलाई स्थानीय वासीले नचिन्ने कुरै भएन, तर, ३० घन्टाको अवधीमा सुदूर पश्चिमेले ओलीलाई फरक ढंगबाट चिन्नदेख्न पाए । 

पहिलो कुरा, ओलीले सुदूर पश्चिमको अहिलेसम्म विकास नहुनु लाजमर्दाे कुरा भने । अनि, यो पनि भने– ‘अब सुदूर पश्चिमको विकासको जिम्मा मेरो भयो ।’

भाषणका कारणले मात्र नभएर अरु कारणले पनि प्रधानमन्त्री ओलीले गत साता गरेको ३० घन्टे सुदूर पश्चिम भ्रमण यस क्षेत्रमा चर्चित रह्यो ।

‘अचम्मका रैछन् प्रधानमन्त्री ओली’, डडेलधुराको स्याउलेको कार्यक्रममा ओलीलाई भेटेपछि स्थानीय एक वृद्ध महिलाले भनिन्– ‘जोसँग पनि बोल्दा रहेछन्, सोधखोज गरिहाल्ने स्वभाव रहेछ ।’ 

प्रधानमन्त्रीलाई भेट्न पाँचबर्षकी नातिनी सहित डराउँदै डराउँदै मञ्चमा पुगेकी ती वृद्ध महिला त्यतीबेला छक्कै परिन जब ओलीले उनकी नातिनीलाई बोकेर काखैमा राखे । अनि फोटो पनि खिचाए ।

ओलीको स्वास्थ्य रेखदेखका लागि डाक्टर जगदिश लम्साल पनि सँगै गएका थिए । पहिलो पटक प्रधानमन्त्री ओलीसँग जिल्ला भ्रमणमा गएका डा. लम्साल ओलीले सर्वसाधरण मानिसहरुसँग घुलमिल गरेको देखेर छक्कै परे । ‘सर्वसाधारणको प्रधानमन्त्रीसँग पहँुच भएको देखेर म त छक्कै परें’ डा. लम्सालले भने ‘प्रधानमन्त्री कुनै पनि ठाउँको समस्या सम्बन्धित व्यक्तिबाटै सुन्न पाए हुन्थ्यो भन्ने चाहनु हुँदोरहेछ । फस्ट हेण्ड रिपोर्टिङमा उवहाँको रुचि रहेछ । यो राम्रो कुरा हो ।”

६८ बर्षको उमेरका  मानिस एकैछिन पनि नबस्ने, थकाइ पनि नमार्ने, स्वास्थ्यको ख्याल पनि नराख्ने स्वभाव देखेर यहाँका मानिसहरुले अनौठो मानेका छन् । त्यो भन्दा रोचक कुरा त के भने यात्राको पहिलो दिन फागुन ७ गते गते राती ओलीका स्वकीय सचिव राजेश बज्राचार्य एकदम खुशी थिए । कारण थियो– बेलैमा सुत्न पाइनु । किनभने यस रात साढे ११ बजे नै प्रधानमन्त्री ओली सुत्न गए । त्यसपछि बज्राचार्यले पनि बेलैमा सुत्न पाए । 

प्रधानमन्त्री ओली कैलाली, डडेलधुरा र डोटी गए । चार ठाउँ भाषण गरे । सयौं कार्यकर्तासँग भेटे । सरकारी कर्मचारीहरुलाई पनि भेटे, सर्वसाधारणसँग पनि भेटे । धेरैको कुरा सुने, थोरै मात्र बोले । 

दिउँसो पौने तीनबजे डडेलधुरा स्थित सैनिक क्याम्पमा अवतरण गरेका ओलीले अघिल्लो बर्ष यस जिल्लामा आफूले गरेको भ्रमणको स्मरण गरे । २०७४ को मंसिर ६ मा ओली तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा चुनावी धावा बोल्न पुगेका थिए । देउवा पनि सेती कर्णाली पहाडका जिल्लाका चुनावीसभामा भाग लिन त्यस दिन त्यतैतिर हेलिकप्टर उडाउँदै थिए । संयोग कस्तो प¥यो भने सुर्खेत विमानस्थलमा सेनाको हेलिकप्टर अवतरण ग¥यो । देउवा झरेनन् । यही विमानस्थलको प्रतिक्षालयमा ओली उनै देउवाका विरुद्ध चुनावी धावा बोल्न डडेलधुरा जाने हेलिकप्टर पर्खेर बसेका थिए ।

त्यसदिन घोराही, दैलेख, दुल्लु, बीरेन्द्रनगर, अछामका आमसभालाई सम्बोधन गरेर ओली  साँझ साढे पाँच बजे डडेलधुराको तुफानडाँडामा अवतरण गरेका थिए । त्यहाँबाट करिब १०मिनेट गाडी यात्रामा ओलीले भनेका थिए “साँझ परिसक्यो । मानिसहरु घर गइसके होलन् । ” तर होइन रहेछ । मंसिर महिना साँझ झमक्क परिसकेको थियो । मानिसहरु हातहातमा मोबाइल बालेर ओलीको ब्यग्र प्रतिक्षामा रहेछन् । त्यसबेला देउवाको एउटा  चर्चित भनाइ थियो “ज्योतीसीले भनेको म अझै चार पटक प्रधानमन्त्री हुन्छु ।” डडेलधुराबासी भन्थे ओलीले देउवको जिल्लामा आएर के भन्लान् ? ओलीले छोटोमै डडेलधुराबासीको चित्त बुझाइदिए “कोकोहीलाई ज्योतिसीले चुनाव जिताउछन् । हामीलाई ज्योतीसीले होइन तपाईंहरुले चुनाव जिताउनुहुन्छ । प्रधानमन्त्री बनाउनुहुन्छ । हाम्रो भरोसा तपाईंहरुसँग छ ।”

खासमा त्यस दिन डडेलधुराबाट दार्चुलाको चुनावी आमसभामा सम्बोधन गर्न जाने कार्यक्रम थियो । साँझ झमक्क परेको थियो । ओलीले ६ वटा आमसभालाई सम्बोधन गरिसकेका थिए । सातौं सभामा जान अत्तालिएका थिए । तर हेकिप्टरका चालकले राती उडाउन नमिल्ने बताएपछि ओलीको पूर्व योजनाको बास डडेलधुरामै भएको थियो । करिब १५ महिना अघिको कुरा हो यो । 

यसपटक ओली दिउँसै आएपछि उनलाई डडेलधुराबासीले नजिकबाट हेर्ने मौका पाए । स्याउले डाँडाको चिसोमा रहेको सवस्टेशन प्रांगणमा ओलीले देउवाको नाम नलिई कटाक्ष गरे– ‘अब डडेलधुराको विकासको जिम्मा मेरो भयो ।’ 

ओलीको भनाइसँगै डडेलधुराबासी कम्ती खुबी भएनन् । नहुन पनि किन ? यो सवस्टेशन पनि ओली अघिल्लो पटक प्रधानमन्त्री भएकै बेला निर्माण सुरु भएको थियो । 

स्याउलेबाट करिब १५ मिनेट उडेर ओली पुगे डोटीको विपि नगर । पहाडले घेरिएको सानो बस्ती । कापडीगाड (खोलाको) किनारमा रहेको यो सुन्दर बस्ती विकासको प्यासले मुर्झाएको थियो । यस बस्तीमा जब प्रधानमन्त्रीका रुपमा ओलीको आगमन हुने चर्चा चल्यो ओलीलाई हेर्न जिल्लै उर्लियो । सांसद प्रेम आले भन्दै थिए– ‘सात घण्टा पैदल हिँडेर मानिस आएका छन् ।’ ओलीको फोटो घाँटीमा झुण्ड्याएर लावा लस्कर लागेका यूवा,विद्यार्थी महिला,बृद्धबृद्धा देख्दा लाग्थ्यो ‘दुर्गम डोटीबासीको कालोपत्रे सडकमा यात्रा गर्ने चाहना उनै ओलीले पुरा गर्दैछन् ।’ 

मान्छेको लस्कर देख्दा लाग्थ्यो यो कुनै सडकको शिलान्यास होइन ठुलो चनावी आसभा हो । यही भिडमा ओलीलाई माला लगाइदिन आएकी एक वृद्धा दौडँदै ओलीको गलामा माला लगाइदिन आइन् । आफ्नै लवजमा उनले भनिन्– ‘माला भिराउदिउँ भन्या कहाँ हिन्या हुन् ?’

बिपी नगरमा साँझ पर्दै थियो । मानिसहरु बसेका ठाउँबाट चटपटाएका थिएनन्  । सांसद आलेले यस ठाउँमा बिजुली नभएको समस्या राखे । त्यसका लागि दस करोड रुपैयाँ माग पनि गरे । उर्जा र भौतिक मन्त्री सहित पुगेका ओलीले भनिदए– ‘३० महिनाभित्र कालोपत्रे सडक निर्माण भइसक्छ । यहाँका जनतालाई बिजुलीको सुबिधा दिन दस करोड रुपैयाँ मात्र होइन जति रकम लागेपनि काम भोलिदेखि नै थाल्ने व्यवस्था मिलाउनुहोस् ।’
 

प्रतिकृया दिनुहोस