मन्त्री बीना मगरको मेलम्ची बयान
काठमाडौं । चर्चा, विवाद र राजनीतिको केन्द्र बनेको छ मेलम्ची खानेपानी आयोजना । यो आयोजना हेर्छिन्– बीना मगर । उनले प्रतिनिधिसभामा आफ्नो मन्त्रालयसँग सम्वन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइन् ।
शुक्रबार सदनमा सांसदहरुले मुख्य रुपमा मेलम्ची आयोजनाकै बारेमा मन्त्री बीनालाई प्रश्न गरेका थिए ।
मन्त्री बीनाको मेलम्ची बयानका मुख्य अंश :
♦ मेलम्चीलाई जुन स्पीडमा अगाडि बढाउन खोजियो, धेरै उल्लेखनीय काम भएको छ, तुलनात्मक रुपमा निकै फड्को मारेका छौं । अन्तिम परिणाम दिन भने सफल भएनौं । सिएमसी कम्पनीको पछिल्लो चरणको लापरवाहीको कारणले हामीले अन्तिम परिणाम दिन सकेनौं । तुलनात्मक रुपमा हेर्ने हो भने मेरो कार्यकालमा उल्लेखनीय काम भएको छ ।
♦ ठेकेदार सिएमसीलाई यथासक्य सहजीकरण गर्यौं । अन्तिम चरणमा पुगेको थियो काम । लगभग लगभग केही समयभित्रै काम सम्पन्न गरेर पानी खुवाउने अन्तिम तयारीमा जुटेका थियौं । धेरै मेहेनत गरेर यति उपलब्धी हासिल गरेका थियौं । तर, दुर्भाग्य भन्नुपर्छ, बीचमा अन्यौल सिर्जना भयो र सिएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजना छाडेर जाने अवस्था सिर्जना भयो ।
♦ सिएमसीले छाडेको भोलिपल्टदेखि नै हामीले थुप्रै प्रयास गरेका छौं । सिएमसी कम्पनी भागेर जाने अवस्था सिर्जना भयो । किन भाग्यो ? कसले भगायो ? कमिसनले भगाको हो या के हो ? यस्ता प्रश्न पनि माननीयहरुले उठाउनुभएको छ । हामीले प्रयत्न सिएमसी कम्पनीलाई पुन काममा फिर्ता ल्याउने र यहाँ देखिएको समस्यालाई हल गर्न । सिएमसीद्धारा नै काम सम्पन्न गर्ने निरन्तर प्रयत्नहरु रहिरह्यो ।
♦ सिएमसी कम्पनी नआउने हो भने रिटेण्डर गर्ने र छिटो काम गर्ने प्रयास गर्यौं । यो होमवर्क गरिरहेका छौं ।
♦ सिएमसी आउँछ भने फाइदा के त ? प्रश्न जोडिएको छ । यदि सिएमसी आउँछ भने नेपाली भेन्डरको समस्या हल गर्न सक्छौं । यदि सिएमसी आउँछ भने रिटेण्डर गर्नुभन्दा छोटो समयभित्र मेलम्ची सम्पन्न गर्न सक्छौं । तर, यसमा पनि व्यवधान छन् ।
♦ विधिसम्मत ढंगले ठेक्काको मान्यताभित्र रहेर सिएमसी कम्पनी आउँछ भने सरकारले वेलकम गर्छ, विधि बाहिर हामी जान सक्दैंनौं । नत्र पुन टेण्डर गरिन्छ । यसको तयारी हाम्रो टिमले गरिरहेको छ ।
♦ पूर्व सचिव भन्न रुचाउँछु खानेपानी मन्त्रालयको । उहाँले के प्रश्न उठायो, के उठाएन भन्ने विषयलाई म प्राथमिकता दिन्न । मैले यो विषयमा कहिँ बोलेको छैन । सचिवले कमिसनको कुरा किन उठाए भन्ने कुरा मैले आधिकारिक रुपमा उठाएको छैन । यो विषयलाई गम्भीरतासाथ आत्मसात गर्न विशेष अनुरोध गर्छु । मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, उपत्यकावासी जनताको लागि निकै महत्वको आयोजना हो । मसँग जोडिएको, मेरो सफलतासँग जोडिएको विषय हो । तसर्थ मेलम्चीमा कुनै पनि गिद्देनजर पर्न दिनेवाला छैन मैले र दिँदिन पनि । यसमा विश्वश्त हुनुस् ।
♦ जहाँसम्म मिडियाले केकसो भनेर गरिराखेको विषय छ, राष्ट्र डुवाउन खोजेको मन्त्रीले भन्ने विषयहरु छ भने सम्वन्धित व्यक्ति नै यसको जवाफदेही हुन्छ । मलाई यो हिसाबकिताब आउँदैन । मैले देखेको फर्मूला मेलम्ची आयोजना प्लस सिएमसी कम्पनी इजिकल्टु काठमाडौंवासी नेपाली जनता । यो फर्मूलाभित्र राखेर मेरो मन्त्रालयले पहिलो प्राथमिकता मेलम्चीलाई देओस् भनेर मैले सचिवलाई निर्देशन दिएको थिएँ । तर त्यो फर्मूलाभित्र बसेर काम गरेको मैले पाइन । स्वाभाविक रुपमा अरु मन्त्रालयको पनि सचिव सरुवा गरिएको छ ।
कहिलेकाहिँ सही ट्रयाक लिन खोज्दाखोज्दै पनि विभिन्न भ्रम फैलिएको छ । मिडियाले नियोजित भन्न रुचाउँछु, मैले कति अर्व रुपैयाँ खायो भन्छन् । एउटा मिडियाले त मैले एक अर्व रुपैयाँ खायो भनेर निकै प्रचारवाजी गरेको छ । मैले हिसाबकिताब हेरें । मेलम्ची आयोजनाले म आइसकेपछि ८४ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको रैछ । मिडियाले एक अर्व रुपैयाँ खायो भनेर हल्ला चलायो ।
♦ माननीय सदस्यज्यूहरु, केही मिडियाले नियोजित ढंगले गर्न खोजेको प्रचारवाजीको पछाडि नलागिकन, मन्त्रालयले हल गर्न खोजेको कामलाई सहयोग गरिदिनुस् ।
♦ मैले आफ्नो इच्छाले यो समयभित्र मेलम्चीको पानी आउँछ भनेर आफ्नो इच्छाले बोलेको होइन । आधार भएरै बोलेको हो । तर, थुप्रै लफडा ब्यहोर्नपर्यो । काम पूरा भएन । हामीले जनताको अधिकतम् हितलाई मध्यनजर गर्दै सिएमसी कम्पनी हुन्छ या नयाँ कम्पनी हुन्छ, छिटोभन्दा छिटो काठमाडौंवासीलाई पानी खुवाउँछौं ।


प्रतिकृया दिनुहोस