• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सदनमा विरोध खतिवडाको रोचक गाँजा भाषण

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभामा कतिपय सांसद यस्ता छन् जो बोल्न लाग्दा सबैले कान ठाडो पार्छन् । कतिपय सांसद यस्ता पनि छन् जो बोल्न थाल्दा सांसदहरु हास्न पनि थाल्छन् र चासोसाथ सुन्छन् । विरोध खतिवडा त्यस्तै एक रोचक वक्ता हुन् । 

मकवानपुरका हुन् खतिवडा । उनी प्रतिनिधिसभामा असाध्यै रोचक भाषण गर्छन् । उनी हसाउछन् पनि । संसदीय छलफललाई रसमय बनाउन उनको योगदान हुने गर्छ । 
    
उनी गम्भीर विषयलाई पनि रोचक रमाइलो ठट्यौलो तरिकाले सुरु गर्छन् । गम्भीर विषयलाई पनि सुनौं सुनौं लाग्ने गरी प्रस्तुत गर्छन् ।
विरोध बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोले । सुरुमै उनले भने– ‘यो संसद् गफ गर्ने थलो होइन ।’

के भन्न लागेका हुन् विरोधले ? सबैले चासो लिने नै भए । उनको दोस्रो वाक्य झन कौतूहल जगाउने खालको थियो, भने– ‘ झन यो संसद गजडीको गफ गर्ने थलो त हुँदै होइन ।’

‘त्यसका वावजुद यहाँ गाँजाको विषय प्रवेश गराउँछु’– गाँजाकै विषयमा केही भन्न लागेको उनले खुलाए । 

विरोधले अमेरिकाका १२ वटा राज्य, क्यानडा, ओसियाना क्षेत्रका देशहरु र थाइल्याण्डमा गाँजाको खेति वैधानिक रुपमै गरिने बताए । 

उनले भने– ‘देवाधिदेव महादेव गाँजा भाड धतुरोमा लठ्ठ पर्थे । उनका भक्त हामी हौं, त्यसकारण गाँजा प्रयोग गर्न पाउनुपर्छ भनिरहेको छुइन ।’

नेपाल विभिन्न अन्तराष्ट्रिय सन्धिहरुले बाँधिएको हुनाले गाँजा खेति गर्न तथा गाँजा व्यापार गर्न नसकेको उनले बताए । तर, उनले के प्रश्न उठाए भने अमेरिका, क्यानडा, थाइल्याण्ड लगायतका देशहरुले कुन विधि र उपायले गाँजा खेति गरिरहेका छन् ? ती देशहरुले जुन तरिकाले गाँजा खेतिलाई वैधानिकता दिएका छन् त्यही तरिकाले नेपालमा गाँजा खेति गरिनुपर्छ भन्ने विरोधको विचार थियो । 

विरोध मकवानपुर जिल्लाबाट निर्वाचित सांसद हुन् । मकवानपुरका धेरै गाउँमा परम्परागत रुपमा गाँजा खेति गरिँदै आएको छ । खासगरी चेपाङ र तामाङ समुदायले गाँजा खेति परम्परागत रुपमै गर्ने गरेको उनले बताए । 

गाँजा खेति गर्दा धेरै मानिस जेल परेकोमा विरोधले दुःख व्यक्त गरे । उनले भने–‘अन्य देशले कुन विधिविधान अनुसार उत्पादन, प्रयोग र बेचबिखन गरिहेछन् ? हामीले गाँजा खेति खुल्ला नगरेको सम्पन्न भएर हो कि ? प्रतिव्यक्ति आम्दानी धेरै भएर हो कि ? नेपाल राष्ट्र यस्ता खात्राक खुत्रुक विषयमा प्रवेश गर्न नचाहेर हो कि ? होइन भने सम्पन्न मुलुकहरु गाँजालाई वैध ढाँचा दिएर आम्दानी गर्ने अनि हामी जस्तो गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने ? योभन्दा लाजमर्दाे कुरा के हुनसक्छ ?’ 

प्रतिकृया दिनुहोस