सांसद नै गर्छन् अशोभनीय र अमर्यादित व्यवहार
काठमाडौं । प्रतिनिधिसभामा अशोभनीय तथा अमर्यादित घटना भएको छ । सभाको मर्यादा राख्ने मामिलामा सभामुख कृष्णबहादुर महरा उदासीन देखिँने गरेकोमा बुभबार सदनको मर्यादा विपरितको घटना एक सांसदले गरेकी हुन् ।
प्रतिनिधिसभामा कांग्रेस सांसद उमा रेग्मीले कागज च्यातेर अशोभनीय व्यवहार प्रदर्शन गरेकी छिन् ।
यस अघि सोमबारको वैठकमा नेकपाका सांसद झपटबहादुर रावलले इतर बेन्चका कांग्रेस सांसद अमरेश सिंहलाई एक महिनाको परिश्रमिक दिने सर्त राखेका थिए । एक सांसदले अर्का सांसदलाई यसरी गैराजनीतिक प्रस्ताव राख्नु, प्रत्यक्ष रुपमा व्यंग्य गर्नु या रकम दिन्छु भनेर ललकार्दै टिप्पणी गर्नु संसदीय मर्यादा विपरित मानिन्छ ।
सो दिन रावल अघिका वक्ता अमरेश सिंहले गायक पशुपति शर्मालाई आफ्नो पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिन्छु भनेका थिए । त्यसपछिका वक्ता रावलले पशुपति शर्माको गीत गाउनुहुन्छ भने म मेरो एक महिनाको तलब दिन्छु भनेर अमरेशलाई इंगित गर्दै ललकारेका थिए । संसदीय मामिलाका जानकारहरुका अनुसार एक सांसदले कोही नागरिकलाई पुरस्कार दिने घोषणा गर्नु सामान्य र स्वीकार्य विषय हो तर एक सांसदले अर्का सांसदलाई आफ्नो एक महिनाको पारिश्रमिक दिन्छु भनेर ललकार्नु अमर्यादित हो ।
सोमबारको अमर्यादित अभिव्यक्तिमा सभामुख महराले हस्तक्षेप गरेका थिएनन् । उनले रावलको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन आदेश दिएर सांसदलाई सचेत गराउन सक्दथे तर त्यसो गरेनन् । बुधबारको वैठकमा भने सांसद उमा रेग्मीले कागज च्यातेरै अमर्यादित र अशोभनीय व्यवहार प्रदर्शन गरिन् ।
संसद वैठकमा कुनै पनि कागज च्यात्न या अन्य कुनै किसिमको हिँस्रक व्यवहार प्रदर्शन गर्न पाइँदैन । उमाले त्यस्तो व्यवहार गरेकोमा सभामुखले उनलाई वैठकबाट निष्काशन गर्न सक्ने अधिकार छ । तर, सो वैठक चलिरहेको बेला महराले अध्यक्षता गरिरहेका थिएनन् । अध्यक्षता महराको सट्टा अरुले गरे पनि सभाको मर्यादा बनाइराख्ने मूल जिम्मेवारी सभामुखका रुपमा महराकै हो ।
अमर्यादित व्यवहार गर्ने सांसदलाई सभामुखले तत्काल कारवाही नगरेर वैठक सकिए पछि पनि गर्न सक्ने अधिकार प्रतिनिधिसभा नियमावलीले दिएको छ ।
उमा रेग्मीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीले समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई विभेद गरेको भन्दै सदनै च्यातेकी थिइन् ।
को हुन् उमा ?
प्रतिनिधिसभामा कागज च्यातेर अमर्यादित र अशोभनीय व्यवहार प्रदर्शन गर्ने उमा नयाँ सांसद होइनन् । उनी ०५१ सालमै निर्वाचित सांसद थिइन् । त्यसपछि संविधानसभा कालमा पनि सांसद थिइन् । कांग्रेसमा पूरानो, अनुभवी र सक्षम नेतृ मानिन्छिन् उमा । संसदीय अभ्याशकी राम्रो जानकार उमाको अशोभनीय हर्कत उपर सभामुख महराले कस्तो निर्णय दिन्छन् भन्ने उत्सुकताको विषय बनेको छ ।


प्रतिकृया दिनुहोस