अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?
काठमाडौं । पटक–पटक कूटनीतिक विषयमा आलोचना खेप्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय केही गम्भीर आलोचनाबीच लचकता देखाएको चर्चा चलिरहेका बेला भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने कूटनीतिक प्रोटोकलको विषयमा गम्भीर प्रश्न उठ्ने गरी प्रस्तुत हुनुभएको छ ।
अर्थमन्त्री वाग्ले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँगको उच्चस्तरीय भेटवार्तामा सहभागी हुँदा नेपालको राष्ट्रिय झण्डा प्रयोग नगरिएको दृश्य सार्वजनिक भएपछि उहाँ र उहाँको भ्रमण टोलीमाथि गम्भीर प्रश्न उठेको छ । दुई देशका उच्च अधिकारीबीच हुने औपचारिक भेटवार्तामा दुवै देशको राष्ट्रिय झण्डा राख्ने सामान्य कूटनीतिक अभ्यास रहँदै आएको अवस्थामा नेपालको झण्डा नदेखिनु सामान्य त्रुटि मात्रै नभई कूटनीतिक तयारीकै गम्भीर कमजोरी हो कि भन्ने प्रश्न उठेको हो ।
विशेषगरी प्रतिनिधिमण्डलस्तरीय वार्तामा भारतीय पक्षतर्फ राष्ट्रिय झण्डा राखिएको देखिए पनि नेपाली पक्षतर्फ नेपालको झण्डा नदेखिनुले भ्रमणको व्यवस्थापन र तयारीमाथि प्रश्न खडा गरेको छ । अर्थमन्त्रीजस्तो उच्च संवैधानिक जिम्मेवारीमा रहेको व्यक्तिको विदेश भ्रमणमा यस्ता आधारभूत कूटनीतिक विषयमा समेत कमजोरी देखिनु गम्भीर विषय हो ।
अझ भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटका क्रममा समेत अर्थमन्त्री वाग्लेको छेउ वा पछाडितर्फ नेपालको राष्ट्रिय झण्डा नदेखिएको विषयले प्रश्नलाई थप गम्भीर बनाएको छ । आखिर यस्तो महत्वपूर्ण भेटवार्ताका लागि आवश्यक कूटनीतिक तयारी कसको जिम्मेवारी थियो ? भ्रमण टोलीले ध्यान दिनुपर्ने थियो कि भारतस्थित नेपाली राजदूतावासले ? अथवा दुवै पक्षबीच समन्वयको अभाव थियो ?
दुई देशका उच्च प्रतिनिधिबीच हुने औपचारिक भेटवार्तामा राष्ट्रिय झण्डा सजावटको विषय मात्र होइन, सम्बन्धित देशको औपचारिक प्रतिनिधित्वको प्रतीकसमेत हो । त्यसैले नेपालको प्रतिनिधिमण्डल सहभागी हुने महत्वपूर्ण वार्तामा नेपालको राष्ट्रिय झण्डा नै नदेखिनुले स्वाभाविक रूपमा कूटनीतिक तयारीमाथि प्रश्न उठाएको छ । यसले अर्थमन्त्रीको जिम्मेवारी र भ्रमण टोलीको तयारीमाथि समेत प्रश्न खडा गरेको छ ।
जानकारहरूका अनुसार विदेश भ्रमणमा जाने प्रतिनिधिमण्डलले यस्ता औपचारिक तथा प्रोटोकलसम्बन्धी विषयमा आवश्यक पूर्वतयारी र समन्वय गर्नुपर्ने हुन्छ । यसअघि पनि सरकारी उच्चस्तरीय भ्रमणमा राष्ट्रिय झण्डालगायतका विषयमा भ्रमण टोली र सम्बन्धित नेपाली नियोगबीच समन्वय हुने गरेको बताइन्छ ।
तर यसपटक अर्थमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय झण्डा नै नदेखिएपछि भ्रमण टोली र भारतस्थित नेपाली राजदूतावासबीच समन्वय कहाँ चुक्यो ? भन्ने प्रश्न उठेको छ ।
अब यस विषयमा अर्थमन्त्री वाग्ले, भ्रमण टोली र भारतस्थित नेपाली राजदूतावासले के जवाफ दिन्छन् भन्ने चासोको विषय बनेको छ । यो सामान्य व्यवस्थापकीय त्रुटि भन्दै पन्छाइने विषय हो वा यसको जिम्मेवारी कसैले लिने हो ? प्रश्न उठिसकेको छ ।

लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?
सम्बन्धित खवर
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
सर्वोच्चमा बारम्बार आगजनी, एमाले नेत्री पाेखरेलले मागिन् निष्पक्ष छानबिन
-
मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक, ओप्सना अवार्डमा २४ विधामा सर्जक–कलाकार सम्मानित


प्रतिकृया दिनुहोस