निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध झापा निर्माण व्यवसायी संघको आन्दोलन, प्रशासनलाई ज्ञापनपत्र
झापा । निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण निर्माण व्यवसाय संकटमा परेको भन्दै झापा जिल्ला निर्माण व्यवसायी संघ ले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।
संघले आज प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सिमेन्ट, डन्डी, बिटुमिन, ढुवानी तथा अन्य निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न माग गरेको हो ।
निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण सञ्चालनमा रहेका विकास निर्माणका काम प्रभावित भएको, लागत अत्यधिक बढेको तथा समयमै आयोजना सम्पन्न गर्न कठिनाइ भएको बताएका छन् । संघका पदाधिकारीहरूले सरकारले बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने तथा निर्माण क्षेत्रमैत्री नीति ल्याउनुपर्ने माग राखेका छन् ।
ज्ञापनपत्र बुझाएपछि निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना समेत दिएका थिए ।
संघका प्रतिनिधिहरूले निर्माण क्षेत्र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै व्यवसायीहरूको मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस