• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रचण्डले विप्लव समूहलाई पहिलो पटक भने– आतंककारी र अपराधी

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहलाई पहिलो पटक ‘आतंककारी’ र ‘अपराधी’ भनेका छन् । 

निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा विप्लव समूहले आज बिहान बम विष्फोट गराएको थियो । विष्फोटको भतर््सना गर्दै अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा ‘आतंककारी’ लेखिएको छ । 

उनले विप्लव समूहको नाम नलेखी ‘गोकुलप्रसाद बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर वम प्रहार गरेर क्षति पुर्‍याएको छ’ लेखेका छन् ।

नेकपाका विभिन्न तहका नेताहरुमाथि विप्लव समूहले आक्रमण गर्दा नेकपाको केन्द्रीय नेतृत्वबाट यसरी विरोधमा विज्ञप्ति आउने गरेको थिएन । 

विज्ञप्तिमा प्रचण्डले लेखेका छन्– ‘घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ तर आतंककारी घोषणा भने अहिलेसम्म गरेको छैन । यो विष्फोट र प्रचण्डको वक्तव्यसँगै अब विप्लव समूहलाई आतंककारी घोषणा गरिनसक्ने आकलन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस