तराईमा फागुको उल्लास : मापसे गर्ने र उन्मादमा आउनेलाई प्रहरीको त्राश
काठमाडौं । आज र भोली तराईमा फागु (होली)को उल्लास छ तर उल्लासमा ग्रहण लगाइदिएको छ विश्वव्यापी फैलिएको कोरोना भाइरसले ।
सोमबार पहाडी भेगमा होली मनाइयो, त्यो फागु पनि कोरोनाको छायाँमा पर्याे । यस वर्ष मात्र हो यसरी रोगका कारण फागुमा ग्रहण लागेको । अरु बेला चाहिँ उछृङखल गतिविधिले फागुमा ग्रहण लाग्ने गरेको थियो ।
कोरोना संक्रमणको आशंकामा गृह मन्त्रालयले भीडभाड गरेर फागु नखेल्न भनेको छ । तर, सम्भावित सुरक्षा खतरा विश्लेषण गरेर प्रदेश–१ र प्रदेश–२ प्रहरी कार्यालयले ‘फागु सुरक्षा योजना’ लागू गरेका छन् ।
‘झै–झगडा, महिलामाथि हुनसक्ने अभद्र व्यवहार, मापसे गरेका चालकबाट हुने दुर्घटना फागुको बेला हुनसक्ने मुख्य चुनौती हुन्’ प्रदेश–२ प्रहरी कार्यालय जनकपुरका डीआईजी प्रधुम्न कार्कीले सनराइज खबरसँग भने–‘हामी त्यस्ता गतिविधि रोक्छौं ।’
जबर्जस्ती रंग दल्ने लगायत गतिविधि नियन्त्रण गर्न तराईका जिल्लाहरुमा बाक्लै प्रहरी परिचालन गरिएको छ ।
सप्तरीदेखि बीरगन्ज सम्मका गाउँ–टोल र शहरी क्षेत्रमा पिकेट, मोवाइल र सादा पोशाकका प्रहरी परिचालन गरेको डिआईजी कार्कीले सनराइज खबरलाई बताए ।
सोमबार पूर्व पश्चिम राजमार्गबाट प्रहरीले मापसे गरेका २८ जना चालकलाई पक्राउ गरेको थियो ।
‘आज र भोली राजमार्गमा मापसे गरेर सवारी चलाउन सक्ने सुरक्षा विश्लेषणका आधारमा बाक्लो चेक प्वाईन्ट राखेका छौं’– डीआईजी कार्कीले भने ।
तराईका ८ जिल्लामा शाकाहारीले मंगलबार फागु मनाइरहेका छन् । मांसाहारीले बुधवार फागु मनाउने भएका छन् ।
तराईका मुख्य शहर बीरगञ्जमा अघिल्ला बर्षहरुमा फागुमा मापसेका कारण दुर्घटना र झैझगडा धेरै हुने गरेको थियो ।
अहिले पनि त्यस्तो गतिविधि हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय बीरगञ्जले मापसे चेकजाँच कडा बनाएको छ । चाडपर्व मनाउने बहानामा दुईपांग्रे सवारीमा क्षमता भन्दा बढी यात्रु चढ्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ ।
‘झै–झगडा र जबजस्ती लोला हान्नेको निगरानी गर्न सादा पोशाकमा प्रहरी खटाएका छौं’ पर्साकी एसपी गंगा पन्तले सनराइज खबरलाई भनिन्– ‘इच्छा विपरित रंग दल्ने लगायतका गतिविधि गरेको फेला परे कानुनी कारवाही गर्छौं ।’
सुनसरी–मोरङ : मापसे ड्राइभिङमा ‘नो कम्प्रमाईज’
पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पनि फागुलाई ध्यानमा राखेर विशेष सुरक्षा रणनीति लागू गरिएकाे छ ।
प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले मापसे ड्राइभिङबाट हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा चेकजाँच कडा बनाएको छ । नेपाल–भारत सीमा नाकाहरुमा पनि चेकजाँच गरिएको छ ।
‘उच्छृङखल गतिविधि नियन्त्रण गर्न पिकेट र मोवाईल ड्युटी खटाइएको छ’ जिल्लाका सिमाना र नेपाल–भारत सिमानामा कडा चेकजाँच भइरहेको छ’ प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) सुमन कुमार तिम्सिनाले सनराइज खबरसँग भने–‘हामीले मापसे चेकिङलाई विशेष कडाइ गरेका छौं ।’


प्रतिकृया दिनुहोस