• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

१२ वर्षपछि पत्रकार विरेन्द्र शाहको हत्यारा गिरफ्तार 

सनराइज खबर संवाददाता

काठमाडौं । बाराका पत्रकार विरेन्द्र शाहको अपहरण र हत्यामा संलग्न मुख्य अभियुक्त नरेन्द्र कुमार फौजदार उर्फ कुन्दनलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । 

आइतबार बिहान  बारागढी गाउँपालिका–६ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए । 

नरेन्द्र कुमार फौजदार १२ वर्षपछि पक्राउ परेका हुन् । उनको नाममा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो । 

पक्राउ गर्न गएको प्रहरी टोलीसँग जोरजुलुम गरेर भाग्न खोजेका फौजदारलाई नियन्त्रणमा लिँदा चार राउण्ड हवाई फायर गरिएको एसपी पंगेनीले बताए ।

०६४ असोजमा पिप्रा बसतपुरबाट विरेन्द्र शाहलाई नरेन्द्र कुमार फौजदार, राम एकवल सहनी र मनेजर गिरी सहित ५ जना मिलेर अपहरण पछि हत्या गरेका थिए ।

बाराको डुमरवाना–७ स्थित जंगलमा गाडेको अवस्थामा २२ कार्तिकमा पत्रकार शाहको शव फेला परेको थियो ।

मनेजर गिरी र राम एकवल सहनीलाई अदालतले यसअघि नै सर्वस्वसहित जन्मदैको फैसला सुनाएको थियो । ५१ वर्षीय नरेन्द्र फौजदारलाई अदालतले फरार करार गरेको थियो ।  

डाँका मुद्दाका पनि फरार 

नरेन्द्र कुमार फौजदार डाँका मुद्दा र लागूऔषध मुद्दाका पनि फरार अपराधी हुन् ।

०६८ कार्तिकमा बारा गा.वि.स–५ स्थित गडहल बस्ने दिपेन्द्र यादवको घरबाट नरेन्द सहितको समूहले हतियार देखाएर तीन लाख रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरी अनुसन्धानबाट खुलेकोे छ ।

उनी लागूऔषध मुद्दाका पनि फरार अभियुक्त भएको एसपी पंगेनीले सनराइज खबरलाई जानकारी दिए । 

प्रतिकृया दिनुहोस