गर्नु गर्याै बाबुराम अढाइ कराेड ठगेर
काठमाडौं । राजधानीको सिटिसी मलमा ग्लोरियस वेलनेस स्पा प्रालि चलाउने बाबुराम श्रेष्ठ पक्राउ परेका छन् ।
५४ जनालाई कुवेत र माल्टा पठाउन नसकेपछि उनी पक्राउ परेका हुन् । उनले ती दुई मुलुक पठाउने भन्दै करिब दुई करोड ५० लाख रुपैयाँ असुलेका थिए ।
अर्घाखाँची छत्रदेव गाउँपालिकाका श्रेष्ठले २८ जनालाई कुवेत र २६ जनालाई माल्टा पठाएका थिए । तर, उनले श्रम स्वीकृति नलिई भारतको दिल्लीबाट उनीहरुलाई उडाउन खोजेका थिए । उनले वैदेशिक रोजगार कम्पनी चलाएका छैनन्, अनधिकृत रुपमा विदेश पठाउन खोजेका थिए ।
माल्टा र कुवेत गएकाहरुले दिल्लीबाटै फर्कन परेपछि उनी विरुद्ध ठगीको उजुरी दिएका थिए । बाबुरामलाई गत २३ गते नेपालगञ्जमा प्रहरीले पक्रेको थियो । अड्डासार गर्दै उनलाई आज काठमाडौं ल्याइएको हो ।
उनले ठगेकामा नेपाली सेना र प्रहरीका पूर्व कर्मचारी पनि छन् । उनले सेक्युरिटी गार्डमा मासिक १२ सय युरो पाइने प्रलोभन देखाएका थिए । पीडितहरुले उनलाई दस लाख रुपैयाँसम्म दिएका छन् । उनले ठगेको कूल रकम अढाई करोडभन्दा धेरै भएको बताइएको छ ।
बाबुरामले ५४ जनालाई दिल्लीको स्टार ग्लोबल ग्रुपसँग मिलेर पठाएको वयान दिएको बुझिएको छ । उनलाई अहिले महानगरिय प्रहरी परिसर काठमाडौंमा थुनामा राखिएको छ ।


प्रतिकृया दिनुहोस