• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चितवनमा काेराेना सतर्कता, स्थगित भए सबै कार्यक्रम

समाचार

चितवन । पर्यटकीय दृष्टिकोणले चितवन ख्याती प्राप्त गन्तव्य मानिन्छ ।

बाह्य या आन्तरिक सबै पर्यटकको पहिलो रोजाई हो चितवन । तर, विश्वव्यापी  फैलिरहेको कोरोना भाइरस (काेभिड-१९) जाेखिमबाट बच्न चितवनका पर्यटकीय, जिल्लास्तरीय लगायत सबै कार्यक्रम स्थगित गरिएको छ । 

चीनकाे वुहानमा पहिलाेपटक देखिएकाे काेराेना विश्वका विभिन्न देशमा फैलिरहेको छ । त्यसकाे सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मंगलबार बिहान चिकित्सकसँग छलफल गरिएको छ ।

अस्पतालमा छुट्टै कक्ष (आइसोलेसन रुम) बनाउन निर्देशन दिइएको छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिएको छ । रोगको सङ्क्रमणदेखि हालैमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उनले जानकारी दिए । 

जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारदेखि सुरु हुने भनिएकाे प्रथम परेवाकोट महोत्सव रोकिएको छ । जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग आजै छलफल गर्न लागिएको उनले बताए । 

जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका सातै स्थानीय तहका प्रशासकीय अधिकृतलाई छलफलका लागि बोलाएको छ । उनका अनुसार कोरोनाको सम्भावित जोखिमलाई केन्द्रित गरेर छलफल गरिँदैछ । प्रशासनले आफ्नै कार्यालयका कर्मचारीसँग समेत आज बैठक बस्ने जनाएको छ ।

रोगको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आन्तरिक रुपमा छलफल गर्न लागिएको उनले  जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिए । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उनले बताए । 

यस्तै ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरिएको भन्दै उनले भने– ‘यस विषयमा सञ्चारमाध्यमले आम नागरिकलाई बुझाइदिनुपर्‍यो ।’  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्चस्तरको टोलीले आज भरतपुर अस्पतालको निरीक्षण गरी रोग देखिहाले गर्ने तयारीबारे छलफल गर्दैछ ।

जिल्लामा कोरोना भाइरसको लक्षण देखिएका दुई जनाको नमूना परीक्षणका लागि पठाइएकाेमा दुवै जनाको नेगेटिभ देखिएको थियो । 
 

प्रतिकृया दिनुहोस