• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

देशमा सुरक्षा छैन, आफैं बचेर हिँड्नुस्

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालमा भदौ २३ गतेदेखि आफ्नै सुरक्षाको जिम्मा नागरिकले आफैं लिनुपर्ने अवस्था आएको छ। सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो। अहिले जनताको सुरक्षाका लागि सडकमा सुरक्षाकर्मीहरू तैनाथ देखिँदैनन्।

हाल चाडपर्वको समय हो। यस्ता समयमा चोरी, डकैती, र दुर्घटनाहरूको सम्भावना बढ्दछ। यही बेला सुरक्षाकर्मीको उपस्थिति अझ कडाइका साथ हुनु पर्ने हो, तर नेपाली सडकहरूमा अहिले उनीहरूको उपस्थिति झनै कम देखिन्छ।

दशैँका लागि काठमाडौंबाट घर फर्कँदै गरेका धेरै यात्रुहरूको गुनासो एउटै छ — 'सडकमा कतै चेकजाँच छैन।' यात्रुहरू भन्छन्, 'सुरक्षाकर्मीहरूको चेकिङले हामीलाई सुरक्षाको प्रत्याभूति दिन्थ्यो, तर अहिले त्यो अनुभूति हराएको छ।'

काठमाडौंबाट बर्दिवास जाने एक यात्रु भन्छन्, 'यसपालि न त सवारी साधनको चेकिङ छ, न त सवारी चालक अनुमति पत्रको। पहिलेका वर्षहरूमा जिल्ला-जिल्लामा चाडपर्वका बेला चेकिङ हुन्थ्यो, जसले हामीलाई सुरक्षाको अनुभूति दिन्थ्यो। अहिले त लाग्छ देशमा सरकार नै छैन।'

काठमाडौंबाट नवलपरासी जाँदै गरेका अर्का यात्रु पनि यस्तै भन्छन्, 'सरकार छ कि छैन भन्ने नै अन्योल भएको छ। सरकारको मुख्य काम नागरिकको ज्यान र धनको सुरक्षा गर्नु हो, तर अहिले सरकार त्यो भूमिका निभाइरहेको देखिँदैन।'

सरकारको सम्बन्धित निकाय पनि मौन बसेको देखिन्छ। 'अहिले सरकार महिला भएकोले हामी महिलाहरू खुसी हुने केही पनि कुरा छैन,” नाम नखुलाउने सर्तमा एक महिला यात्रुले भनिन्। उहाँको भनाइमा, “नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्न नसक्ने सरकार निकम्मा हो।'

वास्तवमै, अहिले काठमाडौं उपत्यकामा पनि प्रहरीको चेकिङ देखिँदैन। भदौ २३ गतेपछि चेकिङ नभएको कुरा धेरै सवारी चालकहरूले बताएका छन्। जो–कोहीले सडकमा हेरे पनि अहिले यही अवस्था देखिन्छ।

प्रतिकृया दिनुहोस