मरेको छैन इमान, ट्याक्सी चालकले फर्काउँछन् मूल्यवान सामान
काठमाडौं । भनिन्छ– यो बेइमानहरुको युग हो । यसो पनि भन्छन्– इमानदार मानिस कोही छैनन् । तर, तथ्यले भन्छ– नेपाली समाजमा इमानदारी मरिसकेको छैन । कैयन मानिस यस्ता छन् जसको इमानदारी देख्दा शिर झुकाएर सम्मान गर्न मन लाग्छ ।
यस्तैमध्येका एक हुन् सिन्धुली दुम्जाका कुलबहादुर श्रेष्ठ । उनी काठमाडौंमा बा.२ ज ४१५५ नम्बरको ट्याक्सी चलाउँछन् । एकदिन सुन्धारामा एकजना यात्रु न्यूरोड जाने भन्दै हतारिँदै उनको ट्याक्सी चढे । न्यूरोडमा ती यात्रुलाई छाडेर उनी फर्किए । केही बेरमा ट्याक्सीको पछाडि सिटमा उनले देखे– दुई लाख ५० हजाद रुपैयाँको पोका !
त्यो नगद अघिका यात्रुको हो भन्ने उनले बुझिहाले । तर, यात्रु गइसकेका थिए । त्यसपछि कुलबहादुर ट्राफिक महाशाखामा पुगे, ट्याक्सीमा फेला परेको नगद प्रहरीलाई बुझाइदिए । उनको काम देखेर चकित भए प्रहरीहरु पनि ।
१६ साउन ०७६ को कुरा हो, कुलबहादुर फर्किएको एक घण्टापछि उनको ट्याक्सीमा पैसा भुलेका यात्रु प्रहरी गुहार्न महाशाखामा पुगे । प्रहरीले सो रकम हात पारिसकेको थाहा पाएर यात्रु पनि चकित भए ।
ट्याक्सी चालकले दुई लाख ५० हजार रुपैयाँ पाएर पनि लगेनन्, प्रहरीलाई बुझाइदिए । ट्राफिकले कुलबहादुरलाई फोन गरेर बोलायो, अनि उनकै अगाडि यात्रुलाई दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्यो ।
उनै इमानी कुलबहादुर श्रेष्ठलाई सोमबार ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिमप्रसाद ढकालले एक कार्यक्रम बीच सम्मान गरेका छन् ।
कुलबहादुर जस्ता इमानी ट्याक्सी चालक २१ जनालाई एसएसपी ढकालले सम्मान गरेका छन् । ट्याक्सीमा फेला परेका नगद तथा बहुमूल्य सामान फिर्ता गर्ने २१ जना चालकलाई सम्मान गर्दै ढकालले भने– ‘इमानको सम्मान हो यो, सम्मानित चालकबाट अरु ट्याक्सी चालकले पनि इमान सिक्नुपर्छ ।’
छुटेको सामान बुझाउँदा सुनको सिक्री !
अर्का इमान्दार चालक हुन्– नविन सिग्देल । बा.२ ज ४०७१ नम्बरको ट्याक्सी चालक नविन गत २७ माघमा लाजिम्पाटमा यात्रुको प्रतिक्षा गरिरहेका थिए । पाँच जनाको परिवार थापाथली जान उनको ट्याक्सी चढे ।
नविनले चालक सिटबाटै डिकी खोलिदिए, यात्रु परिवारले डिकीमा ब्याग राखे । त्यो परिवारलाई थापाथली छाडेर उनी अर्का यात्रु लिएर बानेश्वर पुगे । त्यहाँबाट फर्केर फेरी न्युरोडमा यात्रु ओरालेर ट्याक्सी पार्किङमा बसे । अनि, अर्को ट्याक्सी चालकले उनलाई भने–‘भाइ तिम्रो डिक्की खुल्लै छ ।’
डिकी लगाउँदा उनले लगेज ब्याग देखे । ‘मलाई त्यहाँ के सामान छ भन्ने थाहा थिएन’ सम्मानित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने–‘त्यसपछि मैले ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा फोन गरेर सामान फेला परेको जानकारी गराएँ ।’
प्रहरीले लगेज खोल्दा लगेजमा भेटियो १३ तोला सुन, ल्यापटप र महत्वपूर्ण कागजात । प्रहरीलाई अनुसन्धान गर्न पनि नविनले नै सघाए । यात्रु पहिचान भएपछि नविनलाई बोलाएर ट्राफिकले सामान हस्तान्तरण गरेका थिए । त्यो दिन धन्यवाद स्वरुप नविनले यात्रुबाट एउटा सुनको सिक्री उपहार पाए ।
विदेशीलाई पनि राहत
जापानी सहयोग एजेन्सी जाइकाको तर्फबाट ट्राफिक स्वयंसेवकका रुपमा कार्यरत छिन्– मायोमी । चितवनबाट टुरिष्ट बसमा काठमाडौं आउँदा उनको महंगो चश्मा हरायो । उनलाई बसको नम्बर पनि याद थिएन ।
‘मैले ट्राफिक महाशाखामा जानकारी गराएँ’ मायोमीले भनिन्– ‘चितवनको होटलमा सम्पर्क गरेर प्रहरीले मेरो चश्मा फेला पारिदिएको छ, धन्यवाद ट्राफिक प्रहरी ।’ मायोमीसँगै उनको साथीको चश्मा पनि ट्राफिक प्रहरीले फेला पारेर बुझाएको छ ।
पछिल्लो साउन यता १८ जना विदेशी नागरिकको सामान फेला पारेर सम्बन्धितलाई हस्तान्तरण गरिएको एसएसपी ढकालले जानकारी दिए ।
गत साउन यता ट्राफिक प्रहरीले एक करोड ४८ लाख रुपैयाँभन्दा धेरैको नगद तथा विभिन्न सामान सम्बन्धित धनीहरुको हातमा दिएको छ ।


प्रतिकृया दिनुहोस