काेराेना सहायता कक्ष: बैतडीमा १७८ जनाको स्वास्थ्य जाँच
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँच कार्य जारी छ ।
झुलाघाटबाट नेपाल आउनेहरुको स्वास्थ्य परीक्षणका लागि गत १० फागुनमा त्यहाँ सहायता कक्षको स्थापना गरी स्वास्थ्य परीक्षण थालिएको थियो । सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १सय ७८ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरूपमा सहायता कक्ष स्थापना गरेका थिए । परीक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नभेटिएको उनले बताए ।
भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबारे सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए ।
सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको ‘इन्फ्रारेड थर्मोमिटर’ ले ज्वरो मापन गर्ने गरिएको छ । सहायता कक्षमा ज्वरो मापनका साथै दुई साता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने र रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
अत्यधिक ज्वरो आएको र केही शङ्कास्पद बिरामी भेटिए जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले बताए । सीमाबाट फर्कने नागरिकहरुमा कोरोनाको सम्भावित सङ्क्रमण रोक्न लागि सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।


प्रतिकृया दिनुहोस