• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

सशस्त्र प्रहरीका एसपीसहित १६ जना अधिकृतलाई एकैपटक जिम्मेवारीबाट हटाइयो

सनराइज खबर संवाददाता

काठमाडाैं ।   सशस्त्र प्रहरी बल नेपालले आन्तरिक मूल्यांकनका आधारमा राजस्व संकलन र कार्य सम्पादनमा कमजोरी देखिएका कारण विभिन्न तहमा कार्यरत १६ जनालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

 हटाइएका मध्ये एक जना प्रहरी उपरीक्षक (एसपी), एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी), सात जना प्रहरी निरीक्षक, छ जना सई र एक जना असई रहेका छन्।

रौतहटमा रहेको सशस्त्र प्रहरी गण नं. ११ का गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई हटाई साेही  स्थानमा रामहरि अधिकारीलाई पठाइएको छ।

यस्तै बाराको विभिन्न सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरू—जसमा कबहीगोठ, झिटकैया, बलिरामपुर, छत्वा र झरखोरजस्ता पोस्टहरूमा कार्यरत निरीक्षक, नायव निरीक्षक र सहायक निरीक्षकहरू पनि समावेश छन्—उनीहरूलाई समेत हटाइएको हो।

पर्सा र पश्चिम नवलपरासीका सीमावर्ती क्षेत्रहरूमा कार्यरत केही निरीक्षकहरू, साथै कैलाली र कञ्चनपुरका सीमा सुरक्षा पोस्टमा कार्यरत अन्य सुरक्षाकर्मीहरूलाई समेत फेरबदल गरिएको छ।

संगठनले विशेषगरी सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूको गतिविधिमा कडाईका साथ निगरानी बढाएको छ। गम्भीर त्रुटि गर्ने वा अपेक्षित परिणाम दिन नसक्ने अधिकृतहरूलाई समयमै जिम्मेवारीबाट हटाउने नीतिअनुसार काम भइरहेको जनाइएको छ।

सशस्त्र प्रहरी मुख्यालयले यो कदमलाई नियमित मूल्यांकनको एक हिस्सा भन्दै अन्य प्रदेशहरूमा समेत निगरानी प्रक्रिया तीव्र बनाइएको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस