• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

४३ प्रतिशत महिला हिंसा श्रीमानबाट

रासस

ललितपुर । महिला पुनः स्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकमा माघ महिनाभर ५६ वटा हिंसाको घटना श्रीमानका कारण भएकाे छ ।

एक महिनामा गरिएको अनुसन्धान अनुसार नेपालमा ४३ प्रतिशत महिला श्रीमानबाट प्रभावित भएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए । 

उनले भने– ‘२५ हिंसाको घटना छिमेकीबाट, २१ परिवारका सदस्य, १५ अपरिचित मानिस, ६ प्रेमी, चार साथी, दुई शिक्षक र एक अविवाहिताबाट भएका छन् ।’

माघमा ओरेकले कूल १३० लैङ्गिक विभेदमा आधारित हिंसाका तथ्याङ्क सङ्कलन गरेको थियो । यसमा ८१ वटा घटना स्वयं कार्यालयमा दर्ता भएका र ४९ वटा घटना विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त तथ्याङ्कमा आधारित रहेका न्यौपानेले बताए । 

यसैगरी माघमा ५५ जना महिला घरेलु हिंसाको सिकार, १८ बलात्कार, १६ यौन दुव्र्यवहार, १५ सामाजिक हिंसाको सिकार, १४ हत्या, तीन हत्याको प्रयास र दुई जनामा बलात्कारको प्रयास तथा मानव बेचबिखन भएको देखिन्छ ।  उमेर समूहमा वर्गीकरण गरेर हेर्दा १७ देखि २५ वर्ष उमेर समूहका ४५, २६ देखि ३५ वर्षका ३०, १६ वर्षमुनिका २०, ३६ देखि ४५ वर्षका १६ र ४६ वर्षभन्दा माथिका महिला १० जना हिंसाको सिकार भएका छन् । 

उमेरका आधारमा आरोपितको वर्गीकरण गरेर हेर्दा उमेर समूह थाहा नभएका ३७ जना, २६ देखि ३५ वर्षका ३४ जना, १७ देखि २५ उमेर समूहका २४ जना, ३६ देखि ४५ वर्षका २१ जना, ४६ देखि ५५ वर्षका ११ जना पुरुष र ५६ वर्षभन्दा माथिका तीनजना मानिस रहेका छन् । 
 

प्रतिकृया दिनुहोस