• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सूर्यकाे 'लाइभ आत्महत्या' प्रयासबारे प्रहरीलाई पहिलो सूचना दिएकाे थियाे- फेसबुक मुख्यालयले

राजेश भण्डारी


काठमाडौं । अमेरिका स्थित फेसबुक मुख्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई एउटा ‘अलर्ट’ पठायो । 

फेसवुकमा  सूर्य (नाम परिवर्तन) ले ‘लाइभ’ गर्दै अब म आत्महत्या गर्छु भनिरहेका थिए । तत्कालै फेसबुक मुख्यालयले यो कुरा थाहा पायो । मुख्यालयले ब्युरोलाई यही खबर पठाएको थियो । 

जति चाँडो अमेरिकाबाट फेसबुकले खबर गरेको थियो, त्यति नै द्रुत गतिमा नेपाल प्रहरी हर्कतमा आयो । 

काभ्रेका सूर्य काठमाडौंको रविभवन स्थित कोठामा आत्महत्या गर्छु भन्दै लाइभ गरिरहेका थिए । 

एक इन्जिनियरिङ कलेजमा अध्ययनरत सूर्यकाे आत्महत्या रोक्न प्रहरीले तत्कालै डेरा पत्ता लगायो । उता सूर्य चाहिँ शरिरको माथिल्लो भागको कपडा खोलेर ‘आई विल गोन्ना किल माइसेल्फ, आइएम फ्रस्टेड विथ माई लाइफ’ भन्दै फेसबुक लाइभ गरिरहेका थिए । 

पूरै काठमाडौं उपत्यकाका प्रहरी एकसाथ सूर्यको आत्महत्या रोक्न भिडेको थियो । रविभवनमा पुग्यो महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी रुगम कुँवरको टोली र सिआईबीको टोली । 

प्रहरी टोलीले रविभवनको दुईटा घर पहिचान गर्‍यो । 

‘एउटा घरमा सूर्य फेला नपरेपछि हामी अर्को घरमा पुग्यौं’- महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी रुगम कुँवरले भने– ‘त्यहाँ एक युवती थिइन्, उनलाई हामीले सूर्यको फोटो देखायौं । उनले सूर्यको कोठा देखाइदिइन् ।’ 

प्रहरी पुग्दा पाखुरा र छातीमा चक्कुले चिरेको अवस्थामा सूर्य भेटिए । उनलाई उद्धार गरेर ट्रमा सेन्टर पठाइयो ।

सूर्यका बावु छैनन् । आमासँग काठमाडौं बस्दै आएका उनकी केटी साथी अष्ट्रेलियामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पछिल्लो एक बर्षमा अष्ट्रेलियाबाट केटी साथीले उनलाई करिब चार लाख रुपैयाँ पनि पठाएकी थिइन् । ‘पाँच दिन अघि पनि चार हजार रुपैयाँ पठाएको देखिन्छ’– डिएसपी कुँवरले भने । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट केटी साथीलाई तर्साउनकै लागि उनले आत्महत्या प्रयास गरेको हुनसक्ने आधार देखिएको छ । 

प्रेम सम्बन्धका कारण डिप्रेशनमा जान लागेको आशंकामा प्रहरीले उनलाई सुधार केन्द्रमा पठाउन आमालाई सुझाव दिएका छन् । उपचारपछि प्रहरीले उनलाई आमाको जिम्मा लगाएको छ । 
 

प्रतिकृया दिनुहोस