• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

'घर भित्रै'का बलात्कारीबाट असुरक्षित छन् नेपालमा बालिका

सनराइज खबर

– निरा गौतम

रुपन्देही । घरभित्रै हुन्छन् बलात्कारी । बालिका बलात्कारका विभिन्न घटनाहरुमा यस्तै देखिएकाे छ ।

हाम्राे समाजमा बालिका बलात्कारको शिकार बन्छिन् । बलात्कार कस्ले गर्‍याे किन गर्यो भन्दा पनि अब उस्ले के गरेर खालि भन्नेमा धेरैको ध्यान जान्छ । मानिसहरु चासो दिन्छन् त बस् , उस्को चरित्र माथि ।

तर यथार्थ त यो हो कि आफ्नै घरमा बालिका सुरक्षित छैनन् । आफ्नै बुबा, आफ्नै दाई, आफ्नै काका लगायतका आफन्त नै उनका लागि अभिशाप बनेका छन् ।

गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिका माथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ । 

गत पुस ६ गते तिलोत्तमा नगरपालिकामा छिमेकी एक युवकले सात वर्षीय नाबालकमाथि बलात्कार गरे । घरमा कोही नभएको मौका छोपेर बालिकाका छिमेकी १८ वर्षीय बिमल क्षेत्रीले बालिकालाई फकाईफुल्याई शौचालयमा लगेर जबर्जस्ती करणी गरे । बालिकाको योनीबाट रगत बगेपछि परिवारले थाहा पाएर इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी गरे ।

उनलाई पनि अहिले जबर्जस्ती करणीको मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । तिलोत्तमामै गत मङ्सिर २३ गते बाबुले आठ वर्षीय छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो । बलात्कार गर्ने बाबु अहिले जिल्ला प्रहरी कार्यालयमा अपराधको सजाय भोगिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिएका छन् ।  

गत पुस १९ गते बुटवलको वडा नं ११ मा १४ वर्षीया बालिका बलात्कृत भइन् । स्थानीय २१ वर्षीय विवेक थापाले तीनाउ नदी किनारमा लगेर बालिकालाई बलात्कार गरे । थापाविरुद्ध परिवारले उजुरी दिएपछि उनलाई पनि प्रहरीले मुद्दा चलाएको छ ।

दश वर्षमुनिका बालबालिकालाई बलात्कार भए १० देखि १५ वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था छ ।

पछिल्लो समय बलात्कारका घटना बढेका प्रहरी तथ्याङ्कले देखाउँछ । तीमध्ये अधिकांश घटनाहरु आफन्तबाटै हुने गरेका छन् । दुईदेखि ७० वर्षसम्मका वृद्धमाथि बलात्कारका घटना भएका कारण समाजमा किशोरी र महिला असुरक्षित छन् भन्ने देखाउँछ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३५ बलात्कारका मुद्दा दर्ता भएका छन् जसमध्ये १८ वर्षमुनिका बालिकामाथि बलात्कारका कारण १६ मुद्दा दर्ता छन् ।

गत आव ०७५/७६ मा ७० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । तीमध्ये  १९ मुद्दा १८ वर्षमुनिका बालिकामाथि बलात्कारका कारण दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । ‘अपराधमा परिवार नातेदारका व्यक्ति नै संलग्न हुनु गम्भीर विषय हो, यस्तो आपराधिक मनोवृत्तिलाई निरुत्सहित गर्न परिवार र समुदाय सचेत हुनुपर्छ’, प्रवक्ता खत्रीले भने ।

बलात्कारका घटनाले गर्दा बालिका र किशोरी विद्यालयमा समेत असुरक्षित महसुस गर्छन् । बलात्कारका घटनाले अभिभावक र विद्यार्थीमा नकारात्मक छाप परेको छ । ‘केही कारणले विद्यालयमा ढिलाइ भयो भने अभिभावकहरु आत्तिएर विद्यालयमै आइपुग्नुहुन्छ’, लुम्बिनी सांस्कृतिक नगरपालिकाको अमारी प्राथमिक विद्यालयका शिक्षक लक्ष्मी मिश्रा भन्छिन् । बलात्कारका घटनाका कारण विश्वासको कमी हुँदा विद्यालय र समाजमा आपसी मित्रता, भाइचारको सम्बन्ध हराउँदै गएको उनको दावी छ ।

‘आर्थिक रूपमा कमजोर मानिसमाथि यस्ता घटना बढी भएका छन्’ अधिवक्ता इन्दिरा आचार्य भन्छिन्– ‘आपराधिक मनोवृत्तिका मानिस समाजमा भएकाले अभिभावक बढी सचेत हुनुपर्छ ।’ समाजमा हुने कतिपय घटना बाहिर आउँदैनन् । अर्थिक रूपमा सक्षमहरूले घटना भित्रभित्रै लुकाउने र मिल्ने गरेको पाइन्छ ।

कतिपय पीडक सम्पन्न वर्गबाट पनि हुने गरेको र त्यस्ता व्यक्तिबाट भएका घटना आर्थिक प्रलोभन र राजनीतिक पहुँचका कारण बाहिर आउन नसकेको आचार्यले बताइन् ।

बुबा, दाजु र छिमेकीबाट समेत छोरीहरु असुरक्षित भएपछि विश्वास कसलाई गर्ने ?

- (रासस)

प्रतिकृया दिनुहोस