काठमाडौंमा सुरक्षा व्यवस्था कडा
काठमाडौं । राजावादीहरूले सडकमा प्रदर्शन गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्कन लागेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आज पनि राजावादी दल र समूहहरूले पूर्वराजाको स्वागतमा प्रदर्शन गर्दै छन् । उनीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार सङ्ग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ । प्रहरीले जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदै छन् । पूर्वको स्वागतका लागि राजावादीहरू काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।


प्रतिकृया दिनुहोस