• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

शटर फुटाएर ९० लाखको सुन चोरी, तीन जना पक्राउ 

सनराइज खबर संवाददाता

ललितपुर । पुल्चोकस्थित शाक्या ज्यासको शटर २१ माघको बिहान फुटाइएको थियो । 

शटर फुटाएर करिब ९० लाख रुपैयाँ बराबरका सुन र चाँदीका गहना चोरिएको थियो । मिनिटाटा लिएर सात जनाको समूहमा अ‌ाएका थिए चोर ।

सुन पसलको सेफ समेत चोरी गरेेेका सो समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चोरीमा संलग्न तीनजना भारतीय नागरिकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका सह–प्रवक्ता (डीएसपी) सन्तोष तामाङले जानकारी दिए । 

पक्राउ पर्नेमा सुरज पोद्धार, चन्दन पोद्धार र रविन पोद्धार रहेका छन् । चोरीमा संलग्न अन्य चार जना फरार छन् । 

सिसिटिभी फुटेज र अन्य प्राविधिक पक्षको अनुसन्धानपछि उनीहरुलाई प्रहरीले पक्रेको हो । सुन चोरीमा संलग्न महिलासहितको सो समूह भारतबाट चोर्नकै लागि नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

कवाडी सामान संकलन गर्ने बहानामा दिनभर रेकी गरेर राति तथा विहानपख उनीहरुले चोरी गर्ने गरेका थिए । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखाको संयुक्त टोलीले सतुंगलबाट नियन्त्रणमा लिएको हो । 

शाक्य ज्यासबाट चोरेको सेफ नैकापस्थित विष्णुमतीको किनारमा फालेको अवस्थामा फेला परेको छ । पक्राउ परेकाहरुको साथबाट चोरी गरेको सुन बरामद गरिएको डीएसपी तामाङले बताए । 
 

प्रतिकृया दिनुहोस