• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सकियाे नेपाल-भारत संयुक्त सैन्य अभ्यास

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास सूर्यकिरणको १८औं संस्करण सम्पन्न भएको छ ।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १६ गतेदेखि सुरु भएको साे सैनिक अभ्यास आज साेमबार सम्पन्न भएको हो । 

एक विशेष कार्यक्रमबीच अभ्यासको समापन गर्दै बलाध्यक्ष रथी प्रदिपजंग केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्बद्ध सम्पूर्ण निकायलाई धन्यवाद दिनुभयो । उहाँले अभ्यासका क्रममा दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको बताउनुभयो ।

संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङद्वारा अभ्यासको संक्षिप्त जानकारीसहित सुरु भएको कार्यक्रममा भारतीय सेनाको अभ्यास पर्यवेक्षक समूहका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रविणले बाेल्नुभएको थियो ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायत विषय समावेश गरी अभ्यास सञ्चालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा दुवै देशका ६ सय ६८ सैनिकहरू सहभागी भएका थिए । 

समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी प्रेमबहादुर पुन, रथीवृन्द, अधिकृत, नेपालका लागि भारतीय सैनिक सहचारीलगायतको उपस्थिति थियो ।

विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको यस अभ्यासले २ देशबीच रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकल दर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारी अभिवृद्धि हुने नेपाली सेनाकाे विश्वास छ ।

प्रतिकृया दिनुहोस