सशस्त्रका ४ डीआईजीको पदावधि १ वर्ष थप्ने सरकारको निर्णय
काठमाडौं । सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षक (डीआईजी) हरूको पदावधि १ वर्ष थप भएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेबाट लागू हुनेगरी सशस्त्रका ४ डीआईजीको पदावधि १ वर्ष थप गर्ने निर्णय गरेकाे हाे ।
नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्काे सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरीकाे पदावधि थपिएकाे हाे ।
उहाँहरु आजै रातिदेखि अवकाशमा जाँदै हुनुहुन्थ्याे । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) मा सशस्त्रका डीआईजीको पदावधि ४ वर्षको हुने व्यवस्था छ । साेही नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को सिफारिसमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि ४ वर्षपछि १ वर्ष थप गर्न सक्ने व्यवस्था छ । साेही अनुसार उहाँहरुकाे पदावधि थपिएकाे हाे ।
सशस्त्रको मुख्यालयले केही दिन अघि नै उहाँहरूको पदावधि थप्न सिफारिस गरेको थियो ।


प्रतिकृया दिनुहोस