• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई गृहमन्त्री निर्देशन - परिणाममुखी काम गर्नुस्

खबर स‌ंवाददाता

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएकाे छ ।

गृह मन्त्रालयले शुक्रबार आयाेजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेकाे बताउनुभयाे ।

सीमित स्रोतसाधनकाबीच गम्भीर भएर काम गर्न उहाँले निर्देशन दिनुभयाे । गृहमन्त्री लेखकले भन्नुभयाे - 'अहिले चुनौतीका रुपमा देखापरेका तीनवटै विषय एकअर्कासँग सम्बन्धित छन्, त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।'

सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीति अपनाउन उहाँले आग्रह गर्नुभयाे ।

मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाडि बढाएको भन्दै गृहमन्त्री लेखकले सोहीअनुसार कामको गुणस्तर बढाएर जानुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामीसँग शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी छ, विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्तिसुरक्षा हुनैपर्छ ।'

गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिनुभयाे । सेवाप्रवाह प्रभावकारी बनाउन आग्रह गर्दै उहाँले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन आवश्यक रहेको बताउनुभयाे । विपद् व्यवस्थापनका लागि पूर्व तयारी प्रभावकारी बनाउन पनि सचिव दुवाडीले निर्देशन दिनुभयाे । 'सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने विषयमा जोड दिएर लाग्नुहोस्, जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।' 

भर्चुअल बैठकमा देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस