नेपाल-भारत सैन्य अभ्यास पुस १६ गतेदेखि रुपन्देहीमा
काठमाडौं । नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औं संस्करण पर्सी मंगलबारदेखि नेपालमा हुने भएको छ ।
साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औं संस्करण रुपन्देहीको सालझण्डीमा यही पुस १६ गतेदेखि हुने भएको हाे ।
सूर्यकिरण नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जंगल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतंकवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसंघीय बडापत्र अनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षण लगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ ।
पुस २९ गतेसम्म जारी रहने तालिममा नेपाली सेनाको श्रीजंग बटालियन र भारतीय सेनाको ११औं गोर्खा राइफल्स सहभागी हुनेछ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार यो अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनाका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुनेछ ।
विसं २०६७ बाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी हुने उक्त अभ्यासको सुरुआत गरिएकाे थियाे । उक्त अभ्यासकाे १७औं श्रृंखला अघिल्लो वर्ष भारतको पिथौरागढमा भएको थियो ।
हालसम्म नेपाली सेनाका ४ हजार २ सय १५ जना र भारतीय सेनाका ४ हजार ४ सय ४२ जना सैनिक यो अभ्यासमा सहभागी भएका छन् ।


प्रतिकृया दिनुहोस