कञ्चनपुरमा कार्यकक्षमै प्रहरी जवानले आफैंमाथि गोली चलाए
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी २१ वर्षीय चक्रप्रसाद न्यौपानेले आफैंमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् ।
उनले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैंमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका हुन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताउनुभयो । 'प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए'- उहाँले भन्नुभयाे ।
उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्याइएको प्रहरी नायब उपरीक्षक जोशीले जनाकारी दिनुभयाे । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयाे ।
- रासस


प्रतिकृया दिनुहोस