प्रहरी चौकी भूजीको नयाँ भवन निर्माण, वाग्मती प्रदेशका आन्तरिक मामिला मन्त्रीद्वारा उद्घाटन
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा प्रहरी चौकीको नयाँ भवन निर्माण भएको छ ।
नवनिर्मित भवनको वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले उद्घाटन गर्नुभयो । सो मन्त्रालयले विनियोजन गरेको बजेटबाट भवन निर्माण भएको हो ।
कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार, सुरक्षा निकायका प्रमुखहरू लगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधिहरू, सिनियर प्रहरी अधिकृत लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा भवन निर्माणमा योगदान पुर्याउनु हुने निर्माण व्यवसायी एवम् प्रहरी कर्मचारीलाई प्रमुख अतिथिले प्रशंसा पत्र तथा जग्गादाताहरूलाई दोसल्ला सहित सम्मान पत्र वितरण गर्नु भएको थियो । अतिथिहरूलाई स्थानीय पञ्चेबाजा र झाँकी सहित स्वागत गरिएको थियो ।


प्रतिकृया दिनुहोस