• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

काठमाडाैंकाे गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत भेटिए

खबर स‌ंवाददाता

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एकै परिवारका ३ जना मृत भेटिएका छन् ।

गोकर्णेश्वर-३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा आफ्नै घरको कोठाभित्र बिहीबार मृत भेटिएका हुन् । कान्छाकी श्रीमती सीता दंगाल, १५ वर्षीया छोरी अंशु मोक्तान र २ महिने छोरा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

कान्छा नगरकोटीले श्रीमती र २ छाेराछाेरी हराएकाे भन्दै कात्तिक १६ प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिनुभएकाे थियाे । सोही निवेदनका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले बिहीबार अपराह्न घरको कोठाभित्रै उनीहरुलाई मृत अवस्थामा फेला पारेकाे हाे ।

घटनास्थलमा माकल बालेको भेटिएकाे बताइएकाे छ । ढाेका थुनेर माकल बालेर सुतेका कारण निसासिएरउनीहरुकाे ज्यान गएको हुन सक्ने प्रहरीकाे आशंका छ । यद्यपि अनुसन्धानपछि मात्रै यसबारे भन्न सकिने प्रहरीले जनाएकाे छ ।

कान्छा नगरकाेटीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीवृत्त बौद्ध र प्रहरी परिसर काठमाडौंबाट खटिएकाे टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस