• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बागलुङको जैमिनी दुर्घटना : ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्यो 

सनराइज खबर संवाददाता

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–७ छिस्तीमा सोमबार बिहान भएको पिकअप भ्यान दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ । 

जैमिनी– ८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी–७ जैदी र छिस्तीको सिमानामा पर्ने व्यार्थला नजिकै दुर्घटनामा परेको थियो । ग २ च ९२४७ नम्बरको भ्यान दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार ज्यान गुमाउनेमा जिपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् । 

भ्यान सडकदेखि ५ सय मिटर तल खसेको छ । दुर्घटनामा घाइते एक जनाको जीवितै उद्धार गरिएको छ । 

घाइते सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीषको शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँलाई उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै छ ।

 

प्रतिकृया दिनुहोस