• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सर्लाहीको ईश्वरपुरमा पोखरीमा कार खस्दा दुई जना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मंलबार बिहानीपख पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् । 

मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई खस्दा कार चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता हुनुभएको हो । 

कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल हुनुभएको प्रहरीले जनाएको छ । 

कारसहित पोखरीमा डुबेर बेपत्ता दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ । महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीबाट गएको गोताखोर टोली खोजीमा जुटेको छ । 

मंगलबार बिहान दुईदेखि तीन बजेको आसपासमा कार दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवले स्थानीयलाई जानकारी गराएपछि बिहान चार बजेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो । 

 

प्रतिकृया दिनुहोस