बेलायतमा 'अभ्यास क्याम्ब्रियन गस्ती' मा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडाैं । यस वर्षको अभ्यास क्याम्ब्रियन गस्ती २०२४ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
बेलायतको वेल्स ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेकाे हाे । साे अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अभ्यासमा बेलायतसहित ३७ देशका १ सय २१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो ।
सन् १९६० देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको हो ।
२ दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर संकलन तथा घाइते-बिरामीको व्यवस्थापन लगायतको दक्षता परीक्षणका आधारमा मूल्यांकन हुने गरेको निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले सन् २०१७ र २०१९ मा पनि साे प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो ।


प्रतिकृया दिनुहोस