सुनकोसीले खुर्कोटको पुल बगायो, सुनकोसी तटीय क्षेत्रमा ठुलो क्षति, रोसी र चौँरीले पनि गरे विनाश
काठमाडौँ । अविरल वर्षाका कारण सुनकोसी र त्यसका सहायक खोलाहरूमा आएको बाढीले ठुलो विनाश गरेको छ ।
सुनकोसीका साथै रोसी, चौँरी लगायता सुनकोसीका सहायक खोलाहरूले समेत तटीय क्षेत्रमा क्षति पुर्याएका छन् ।
सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । पुल बगाएपछि रामेछाप, ओखलढुङ्गा, दोलखा र सोलुका वल्लो भेगेको तराई र काठमाडौंसँगको सम्पर्क टुटेको छ ।
बाढीले सुनकोसी नदीको रामेछाप पट्टीको भाग बगाएको छ । रामेछापको सेलेघाट पट्टीको सडकमा समेत बाढीले क्षति पुर्याएको छ ।
अब रामेछापबाट काठमाडौंं जानको लागि खाँडादेवी गाउँपालिकाको सित्खाको पुल तरेर वा दोलखा घुमेर जानु पर्ने भएको छ । सित्खाको पुल समेत नदीको बहाव बढेका कारण उच्च जोखिममा छ । पक्की पुल नजिकै रहेकाे सित्खाकाे झाेलुङ्गे पुल बगाएकाे छ ।
सुनकोसी नदीले नदी तटीय अन्य क्षेत्रमा पनि ठुलो क्षति गरेको छ । नदीले रामेछापको सुनापति गाउँपालिको च्याँडीटार बगाएको छ । नदीले च्याँडी फाँटमा ठुलो क्षति पुर्याएको एमाले नेता भुवन घिमिरेले जानकारी दिनुभयो ।
सुनकोसीको बाढीले मुलकोट, सित्खा, डप्खा, खुर्कोट लगायतका बजार बस्तीमा पनि डुबाएको छ । ती क्षेत्रमा डुबान पर्दा ठुलो क्षति भएको छ ।
त्यस्तै रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको नेपालथोक सडक खण्डमा पर्ने नेपालथोक प्रहरी चौकी नजिकैको सडक कटान गरेको छ । सडक कटान गरेर रोसी खोला भित्तामा पुगेको छ । जसले गर्दा बीपी मार्गको सो खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले दुम्जा स्थिति कुशेश्वर महादेव मन्दिर आसपासका पाँचवटा बढी घर बगाएको छ ।
यसै बिच रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ लखनपुरमा गएको पहिरोले ६ वटा घर पुरेको छ । वडाध्यक्ष टीकाप्रसाद गौतमका अनुसार बस्ती माथिबाट झरेको पहिरोले ती घर पुरेको हो ।
बिहान पहिरो गएको कारण मानिसहरू भाग्न सफल भएका भए पनि घर भित्र रहेका कुनै पनि सामान झिक्न नपाएको गौतमले बताउनुभयो । लखनपुरको बस्ती ३० भन्दा बढी घर पहिरोको जोखिममा परेका उहाँले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस