अनिवार्य अवकाशमा जान लाग्नुभएका प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ
काठमाडौं । भदौ २४ गतेदेखि अनिवार्य अवकाशमा जान लाग्नु भएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको नेपाली सेनाले औपचारिक रूपमा बिदाइ गरेको छ ।
करिब ४२ वर्ष लामो सैनिक सेवा गर्नुभएका शर्माले प्रधानसेनापतिको रूपमा तीन वर्षे कार्यकाल सम्पन्न गरेर अवकाश लिन लाग्नु भएको हो । प्रधानसेनापति शर्माको सम्मानमा बुधबार जङ्गी अड्डामा विशेष समारोहका बिच बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पुर्याएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताउनुभयो । प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको उहाँले बताउनुभयो ।
दंगालले नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लाग्नुभएका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबिच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
कामु प्रधानसेनापति सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताउनुभयो । नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्याउन शर्माले प्रदर्शन गरेको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस