• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पाँचथरको फालेलुङकाे विष्फाेट : दुई बालबालिकाको ज्यान गयो, दुई घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा प्राङवुङ विष्फाेट हुँदा दुई बालबालिकाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा दिलीप साबाका ११ वर्षका छोरा डिक्सन साबा र २ वर्षकी छोरी प्रिन्सा साबा रहेका फालेलुङ गाउँपालिका–५ का वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिनुभयो । घटना बिहीबार दिउँसो तीन बजेतिरको भएको उहाँले बताउनुभयो । 

बच्चाहरूले स्थानीय आइन्द्र केरुङको घर माथि फेला पारेको सो विस्फोटक बस्तुलाई खेल्ने क्रममा कौतुहलताबस हताैडाले हान्दा घटना भएको खपाङ्गीले जानकारी दिनुभयो । विष्फोटनमा परी अन्य दुई जना पनि घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनाको भने स्थानीय अस्पतालमा उपचार भएको छ । 

सो स्थानमा अर्को पनि शङ्कास्पद बस्तु फेला परेको छ । त्यो पनि विष्फोटक बस्तु भएको हुन सक्ने आशङ्कामा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । 

सो विस्फोटक बस्नु माओवादीको सशस्त्र द्वन्द्वको समयमा नै छाडिएको हुन सक्ने आशङ्का गरिएको छ । 

 

प्रतिकृया दिनुहोस