• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रामेछापको दोरम्बा शैलुङको लेखर्कमा चार घर बगायो, दुईजनाको शव भेटियो, केही सम्पर्क विहीन 

सनराइज खबर संवाददाता

रामेछाप । गएराति आएको अविरल वर्षाको पछिको पहिरोले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा चारवटा घर बगाएको छ । 

पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्का एक पहरी समुदायकै घर बगाएको स्थानीय राजुराम पाठकले जानकारी दिनुभयो । पुरिएका घरमा ११ जना मानिसहरु रहेको अनुमान गरिएको छ । जसमध्ये भीमबहादुरको घरमा तीन जना, उर्मिलाको घरमा चार जना, कालेको घरमा तीन जना र अर्को घरमा एकजना रहेको पूर्वानुमान छ । उनीहरू सम्पर्क विहीन छन् । पहिरोमा पुरिएका मध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।  प्रहरीले शव फेला परेकाहरुको पहिचान हुन बाँकी रहेको जनाएको छ । 

ज्यान गुमाउनेमा भीमबहादुरकी छाेरी चण्डिका थापा मगर र उहाँको करिब एक वर्षको नाबालक छोरा रहेको घटनास्थलमा रहनुभएको राजुराम पाठकले जानकारी दिनुभयो । चण्डिका स्ठानीय आधारभूत विद्यालयमा पठाउनि शिक्षिका हाे । उहाँकाे घरमा रहेकी एक बालिकाकाे भने जीवितै उद्धार गरिएकाे छ । 

रातभरी ठुलो वर्षासँगै बाढी र पहिरो आएको कारण राती घटनास्थलमा बाहिरका मानिस तथा प्रहरी पुग्न नसकेको र बिहान उज्यालो भएपछि मात्रै घटनास्थलमा पुगेको न्यौपानेले जानकारी दिनुभयो । 

स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ ।  बाढीले ढोइगाउँ खोला र घट्टे खोलाको पुलमा क्षति पुर्‍याएको छ । ढोइगाउँ खोलाको पुल पुरै बगाएको छ । त्यस्तै छाङखोलामा हालिएको हिमपाइप पनि बगाएको छ । 

बाढी पहिरोको कारण दोरम्बा टोकरपुर सडक ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । गाउँमा ठाउँ ठाउँमा पहिरो गएको कारण पुरै बस्ती असुरक्षित भएको छ । 

 

प्रतिकृया दिनुहोस