तनहुँको आँबुखैरेनी बस दुर्घटना : १४ जनाको शव भेटियो, १६ को जीवितै उद्धार
काठमाडौं । तनहुँको आँबुखैरेनी–२ ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म दुर्घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको छ । सो दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको थियो । बसमा भारतीय पर्यटक रहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बस शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।
भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याइएको छ । उद्धार कार्यमा १० जना गोताखोरसहित सशस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरीको टोली खटिएको छ ।
बस भिरबाट सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा ३५ जना सवार रहेको प्रारम्भिक जानकारी आएको छ ।
सो बसमा रहेका ६ जना यात्रु नदीमा बेपत्ता भएको अनुमान गरिएको छ । बेपत्ता यात्रीको खोजीकार्य जारी छ ।


प्रतिकृया दिनुहोस