• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

एनसेलको सिमकार्ड लुट्ने योजनामा विप्लव समूह 

राजेश भण्डारी

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले एनसेलको सिमकार्ड लुट्ने योजना बनाएको छ । कर छली गरेकाे भन्दै साे समूहले एनसेलका टावरहरुमा बम विस्फाेट गराउँदै आएकाे छ । 

अहिले भने एनसेलका सिम ठूलो परिमाणमा ढुवानी गर्दा लुट्ने योजना बनाएको प्रहरीले जनाएकाे छ । विप्लव समूहकाे याे याेजनाकाे सुराक पाएपछि प्रहरीले एनसेल मुख्यालयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

‘विप्लव समूहले ठूलो परिमाणमा एनसेलको सिम लुट्ने योजना बनाएर टिम परिचालन गरेको सूचना पाएका छौं’– नेपाल प्रहरीका एक उच्च अधिकृतले सनराइज खबरसँग भने– ‘सिमकार्ड ढुवानी गर्दा प्रहरीलाई जानकारी दिन भनेका छौं ।’

विप्लव समूहको पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर बिष्ट र सेक्रेटरी भुवन जिसीले सोमबार प्रेस विज्ञप्ति जारी गरेर एनसेलको सिमकार्ड बहिष्कार गर्न आग्रह गरेका छन् । 

सो समूहले एनसेलका टावर छतमा राखेका घरधनीलाई त्यस्ता टावर हटाउन आग्रह समेत गरेको छ । यो सँगै काठमाडौं उपत्यकामा एनसेलको टावर राखिएको घरहरुमा प्रहरीले निगरानी बढाएको छ ।

उपत्यका इन्चार्जमा चिरन 

विप्लव समूहले चिरन पुनलाई उपत्यका इन्चार्जको जिम्मेवारी दिएको छ । यसअघि उपत्यका इन्चार्ज माइला लामा र त्यसपछिका नविन विक ‘हितमान’ लाई प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन् । 

चिरनलाई केही समयअघि नारायणी ब्यूरोबाट सरुवा गरेर काठमाडौं उपत्यकाको इन्चार्ज बनाइएको विप्लवका एक नेताले सनराइज खबरलाई जानकारी दिए । 
चिरन नेतृत्वको समूहले काठमाडौं उपत्यकामा चन्दा आतंक मच्चाएको छ । 

यो पनि पढौं

काठमाडौं उपत्यकामा ‘विप्लव समूह’को चन्दा आतंक

विप्लवको ‘हिटलिस्ट’ मा लोकमान देखि विष्णु पौडेलसम्म

सिंहदरबार देखि दीप बस्न्यात निवाससम्म सुरक्षा सतर्कता

प्रतिकृया दिनुहोस