• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काभ्रेस्थलीको जंगलमा पूर्व सैनिकको लुटियाे ५० लाख

राजेश भण्डारी

काठमाडौं । ‘बल्ने ढुंगा’ किन्‍ने भन्दै ५० लाख बोकेर काठमाडौंको काभ्रेस्थली जंगलमा पुगेका पूर्व सैनिक लुटिएका छन् । 

आफ्ना साथीहरुको कुरा सुनेर शुक्रबार (९ माघमा) बल्ने ढुंगा किन्‍न काभ्रेस्थली पुगेका नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङ लुटिएका हुन् । 

जग्गा प्लटिङको काम गर्ने बच्चुरामलाई आफ्ना साथीहरुले ‘बल्ने ढुंगा बेच्ने मान्छे भेटेका छौं, मिलेर त्यो किनौं पछि करोडौंमा बिक्री हुन्छ’ भनेपछि उनी ५० लाख बोकेर जंगलमा पुगेका थिए । 

उनी त्यहाँ गएका थिए बल्ने ढुंगा किन्‍न । तर न उनले ढुंगा किन्‍न पाए न त आफूसँग भएको ५० लाख नै  जोगाउन पाए । किनकी बच्चुराम लुटिए । लुटेरा समूहले उनको साथमा भएको ५० लाख लुटे । 

आफू लुटिएको सूचना उनले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिए ।

हालसम्म लुटपाटमा संलग्‍न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले जानकारी दिए । 

बल्ने ढुंगा किन्‍न जाँदा पैसा लुटिएका बच्चुरामले जग्गा बैना गर्न बोलाएर आफूलाई सो समूहले लुटेको प्रहरीलाई बताएका छन् । लुटपाटमा संलग्‍न ६ जना पनि जग्गा प्लटिङ ब्यवसायमा संलग्‍न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

‘पीडितसँग सँगै गएकाहरु पनि लुटपाट गर्ने समूहसँग मिलेको देखिन्छ’ महानगरीय प्रहरी वृत बालाजुका डीएसपी रञ्जित सिंह राठौरले सनराइजखबरसँग भने– ‘पीडितसँग उनीहरु एउटै ट्याक्सिमा गएको देखिन्छ ।’ 

पक्राउ परेकाहरुबाट अपराध महाशाखाको टोलीले १९ लाख नगद र दुई मोटरसाइकल बरामद गरेको छ । बच्चुरामलाई लुटेपछि उनीहरुले नयाँ मोटरसाइकल खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । 

प्रतिकृया दिनुहोस