• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ट्राफिकसँग करार सम्झौता, घुस फिर्ता गरे एक नम्बर 

खबर स‌ंवाददाता

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) भिमप्रसाद ढकालले फिल्डमा खटिने ट्राफिक प्रहरीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । 

ट्राफिकको काम कारबाहीलाई मूल्यांकन गर्ने नयाँ परिपाटीको सुरुआत गर्दै ढकालले उपत्यकाका युनिट इन्चार्जहरुमार्फत् फिल्डमा खटिने ट्राफिकसँग सम्झौता गरेका हुन् । 

यसका लागि ट्राफिकको कामलाई चार खण्डमा विभाजन गरिएको छ । कुल ४ सय पूर्णाङ्कको आधारमा ‘ट्राफिक मुल्यांकन प्रणाली’ को विकास गरिएको एसएसपी ढकालले जानकारी दिए । 
ट्राफिक महाशाखाले कार्यालय व्यवस्थापन एवं अनुशासन बापत २५ अंक, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण बापत २ सय अंक, सवारी चोरी एवं दुर्घटना अनुसन्धान बापत ६० अंक र सिर्जनशील काम गरेबापत १ सय १५ अंक पाउने करार सम्झौता गरेको छ । 

सम्झौता अनुसार फिल्डमा घुस दिन खोज्नेलाई सो घुस फिर्ता दिएमा त्यस्ता ट्राफिक प्रहरीले १ नम्बर पाउने छन् । यस्तै महिनामा सम्भावित पाँचवटा दुर्घटनामा कमि ल्याएमा ट्राफिक युनिटले नै एक नम्बर पाउनेछ ।  

मादक पदार्थ सेवन गर्ने २५ जनालाई कारबाही गरेमा उक नम्बर तथा हिट एण्ड रनमा संलग्नलाई पक्राउ गरे दुई नम्बर पाउने सम्झौतामा उल्लेख गरिएको छ । यस्तै सवारीमा छुटेको सामान फेला पारी फिर्ता दिएमा दुई नम्बर र चोरीको गाडी समात्नेले पाँच नम्बर पाउनेछन् । 

यातायात व्यवस्थापनमा सामूहिक प्रयासबाट भएको कामको मूल्यांकन गरेर ‘करार सम्झौता’ भएको तीन महिनापछि उत्कृष्ट युनिटलाई पुरस्कृत गरिने छ । 

व्यक्तिगत रुपमा उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरीलाई बढुवामा नम्बर जोडिने गरी पुरस्कृत गरिने एसएसपी ढकालले जानकारी दिए । 

‘करार सम्झौता भएको तीन महिनामा मूल्यांकन गरेर कर्मचारीलाई पुरस्कृत गर्छौं’ –  ढकालले भने– ‘हामीले दिने विभागीय पुरस्कारले कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ ।’ 

‘प्रश्नपत्रका आधारमा गरिएको करार सम्झौतालाई हामीले अन्तर ईकाई कार्य सम्पादन परिक्षा भनेका छौं’ – महाशाखा प्रमुख ढकालले भने – ‘यसबाट कामको वास्तविक मुल्यांकन हुन्छ र कार्यसम्पादनमा पनि प्रभावकारीता आउँछ ।’ 

सचेतना कक्षा लिने, भाडामा चल्ने सवारी अनुगमन गरेर समस्या सुल्झाउने, फुटपाथको अस्तब्यस्तता हटाउने, वान वे कायम गर्ने र लेन मार्किङ गराउने ट्राफिक प्रहरीले पनि अंक पाउनेछन् । 

कार्यसम्पादन करार सम्झौताबाट अन्तर युनिटको बिचमा प्रतिप्रर्धा हुने र सवारी जाम हटाउन सकिने मशाहाशाखाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस