पहिरोमा पुरिएर हराएका बसका ६५ मध्ये १५ यात्रुको शव फेला पर्यो, आठ जनाको सनाखत
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थिति नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रु मध्ये १५ जनाको शव भेटिएको छ ।
मंगलबार बिहानसम्म फेला परेका मध्ये आठ जनाको शवको सनाखत भएको छ । ६ पुरुष र एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरूको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन् ।
पहिचान भएकामा भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।
त्यस्तै चितवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको पनि सनाखत भएको छ । उनीहरूको शव आफन्तले बुझेका छन् ।
गत असार २८ गते बिहान ३ः३० बजे तिर सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा ३८ जना र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस