• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

काठमाडौं उपत्यकामा ‘विप्लव समूह’को चन्दा आतंक

राजेश भण्डारी

काठमाडौं । काठमाडौं उपत्यकामा नेत्रविक्रम चन्द ‘विप्लव’को समूहले चन्दा आतंक मच्चाएको छ । 
लुकिछिपी र कतिपय अवस्थामा खुल्ला रुपमा नै चन्दा आतंक सिर्जना गरेपछि गृह मन्त्रालयले त्यस्तो गतिविधिको निगरानी गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । 

गृह मन्त्रालयले २८ पुुसमा ‘अत्यन्त जरुरी’ गोप्य पत्र लेखेर चन्दा आतंक सिर्जना गर्ने विप्लव समूहको क्रियाकलाप नियन्त्रण गर्न निर्देशन दिएको छ । 

विप्लव समूहले दक्षिण ललितपुरको बागमती, कोन्ज्योसोम र महांकाल गाउँपालिकामा चन्दा आतंक मच्चाएको छ । 

काठमाडौंको कीर्तिपुर नगरपालिकामा रहेका शिक्षण संस्था, रेष्टुरेण्ट, उद्योगी र निर्माण व्यवसायीलाई धम्कि दिएर विप्लवका कार्यकर्ताले चन्दा संकलन गर्ने गरेका छन् । 

व्यवसायीहरुले प्रहरीलाई जानकारी नै नदिई चन्दा दिन थालेपछि चन्दा आतंक नियन्त्रणमा समस्या भएको बताउँछन् प्रहरी प्रवक्ता (डीआईजी) शैलेस थापा क्षेत्री । ‘व्यवसायीहरुले नयाँ नम्बरबाट फोन आउनासाथ चन्दा दिनुहुन्छ, त्यो चाहिँ मुख्य समस्या देखिएको छ’ डिआईजी क्षेत्रीले भने–‘चन्दा मागेको सुराक प्रहरीलाई दिएमा हामीलाई कारवाही गर्न सजिलो हुन्छ ।’ 

चन्दा मागेको सुराक आएका कतिपय घट्ना अनुसन्धान गर्दा विप्लवको नाममा अन्य समूहले पनि चन्दा उठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

कार्यालय सहयोगीको चन्दा आतंक 

दक्षिण ललितपुरमा पछिल्लो समय चन्दा उठाउन सक्रिय छन्, राज कुमार परियार । 

उनले लुकिछिपी र खुल्ला रुपमा बागमती, कोन्ज्योसोम र महाङ्काल गाउँपालिकामा चन्दा उठाउने गरेका छन् । 

दक्षिण ललितपुरमा संगठन विस्तार र कार्यकर्ता भेला गर्दै आएका परियार गोदावरी बस्छन् । 

सनराइज खबरलाई प्राप्त  गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्र अनुसार उनी केही समय अघिसम्म गोदावरी नगरपालिकाको कार्यालय सहयोगी थिए ।

कीर्तिपुरमा राजु आतंक 

कीर्तिपुरमा चन्दा उठाउन सक्रिय छन्, राजु पुतुवार । उनी विप्लव समूहको कीर्तिपुर नगरपालिका इन्चार्ज हुन । 

विशेष आर्थिक अभियानका नाममा जनप्रतिनिधि, उद्योगी, ब्यवसायी र कर्मचारीलाई उनले धम्कि दिएर चन्दा असुल्ने गरेको बताईएको छ । ‘राजुले धम्क्याएर मोटो रकम चन्दा असुल उपर गर्ने  कामलाई पछिल्लो समय बढाउँदै लगेका छन’ गृहको गोप्य पत्राचारमा भनिएको छ–‘राजुले विभिन्न शिक्षण संस्था, रेष्टुरेण्ट, उद्योगी र निर्माण ब्यवसायीलाई धम्कि दिँदै चन्दा संकलन गर्ने गरेका छन ।’ 

गृह मन्त्रालयका शाखा अधिकृत लोकमान श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा उनको गतिविधि निगरानी गरेर कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई भनिएको छ । 

स्युचाटार बसेर भक्तपुरमा आतंक

विप्लव समूहका भक्तपुर जिल्ला सेक्रेटरी हुन, ऐन बहादुर शाही । काठमाडौंको कलंकी, स्यूचाटार क्षेत्रमा आश्रय लिएर बस्ने शाहीले भक्तपुरमा चन्दा आतंक सिर्जना गरेका छन । 

ऐन बहादुरले सदरमुकाम भन्दा टाढा, सुरक्षा निकायको उपस्थिती नरहेको क्षेत्रमा चन्दा उठाईरहेको भन्दै गृह मन्त्रालयले उनिमाथी निगरानी बढाएर नियन्त्रणमा लिन निर्देशन दिएको छ । 

प्रतिकृया दिनुहोस