सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्कियाे, तीन जनाको ज्यान गयाे
काठमाडाैं । सर्लाहीको वाग्मती नगरपालिका-११ मा यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक (लरी) ठोक्किँदा ३ जनाको ज्यान गएकाे छ ।
वाग्मती-११ स्थित रायमाझी चोकमा भैरहवाबाट जनकपुर जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको ट्रक ठोक्किँदा ३ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
ज्यान गुमाउनेमा रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामशरण केवट छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घाेषणा गरेका थिए ।
दुर्घटनामा परेर २० जना बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । गम्भीर घाइते भएकाहरूको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।
बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । बसमा ४० जना सवार थिए ।


प्रतिकृया दिनुहोस